लामो समयसम्म विद्यार्थी राजनीति गरेर अघि बढेका हुन् हिमाल शर्मा । उनी अहिले सत्तारुढ नेकपाका केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । तत्कालीन नेकपा (माओवादी) विद्यार्थी संगठनका अध्यक्ष बनेका शर्मा १४ वर्षको कलिलो उमेरमा प्रहरी गिरफ्तारमा परेपछि सक्रिय राजनीतिमा होमिएका थिए । पटक–पटक गरी १० वर्षभन्दा बढी जेल जीवन विताएका शर्माले विद्यार्थी संगठनबाट राजनीति थालेका हुन् । २०२९ वैशाख १२ गते बागलुङको कुस्मिसेरामा जन्मिएका नेकपा केन्द्रीय सदस्य सदस्य शर्मासँग समसामयिक विषयमा गरिएको कुराकानी ।

नेकपाको भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकलाई कसरी समीक्षा गर्नुभयो ?
हाम्रो पार्टीको हालै केन्द्रीय समितिको दोस्रो बैठक असाध्यै ऐतिहासिक ढंगले सम्पन्न भयो । यो बैठकले मुलुकको समसामयिक राजनीति, सामाजिक, आर्थिक, राष्ट्रियता लगायत यावत् विषयलाई सम्बोधन गरेको छ ।
पार्टी एकताको स्पिरिटलाई भावनात्मक रुपमा केन्द्रीकरण गरेको छ । यो बैठक दोस्रो भनिए तापनि वास्तवमा भन्ने हो भने बैठक पहिलोजस्तो भएको छ । हाम्रो ४ सय जनाको केन्द्रीय कमिटी बैठक भन्दा कतिपयले खिसिट्युउरी गर्दै थिए । सबै केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले निर्धक्क रुपमा आप्mना मत राख्न पायौं । हामीले राखेका विषयमा नेतृत्वले एक–एक गरी स्पष्ट पार्ने काम भयो । निर्णय गर्ने काम भयो । हामीले उठाएका कतिपय कुरा सम्बोधन भएका छन् । त्यसकारण यो बैठक मुलुकका लागि ऐतिहासिक र नेपाली जनताका लागि पनि कोशेढुंगा साबित भएको छ ।
बैठकबाट देशव्यापी अभियान चलाउने लगायत निर्णय भए, त्यो कार्यान्वयन हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
हामीले भनेका छौं, जे गरिन्छ त्यो बोलौं, जे बोलिन्छ, जे निर्णय गरिन्छ त्यो कुरा गरौं । हामीले यो प्रतिबद्धता जाहेर गरेका छौं अहिले । गर्ने कुरा बोलौं, बोलेको कुरा गरौं । योजना बनाऔं, त्यसलाई समयमा पूरा गराऔं । अहिलेको केन्द्रीय कमिटी बैठकको मेन स्पिरिट यो हो ।
सरकारले काम गर्न नसकेको विषय पनि छलफलमा उठेको थियो ?
ती विषय पनि बैठकमा उठ्यो । हाम्रो कम्युनिस्टको सरकार हो । हामीमाथि जनताले धेरै अपेक्षा गरेका छन् । सरकारले यति धेरै काम गरेको छ कि शनिबारमात्रै हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले सदनमा बेलिविस्तार लगाएर आफूले गरेका कामहरु गौरवका साथ राख्नुभयो । यत्ति हुँदाहुँदै पनि हामीले आमजनतामा यी कुरा बुझाउन सकिरहेका छैनौं । यो सरकारले नराम्रो गरेको छैन । राष्ट्रियताको बारेमा धेरै ठूलो काम गरेको छ ।
इतिहासमा चाहे कालापानीको विषय, लिम्पियाधुराको विषय । नक्साको विषय किन नहोस् । औपचारिक बैठक राखेर भारतसँग ठाडो शिर बनाएर पत्राचार गर्ने कुरा चानचुने पक्कै पनि होइन । भ्रष्टाचार नियन्त्रण लगायत सरकारको काममा पनि सोचविचार गरेर अगाडि बढेको छ । विकास निर्माणका काम पनि व्यापक हुँदैछ । यस्ता भइरहँदा पनि कतिपय पार्टीपंक्तिले पनि बुझेका छैनौं ।
विभिन्न विधेयकको कुरा गर्नुस् । किन यस्तो भइरहेको छ भने ओनरसिप पाएन । मल्टीपार्टी सिस्टममा पार्टीमा ओनरसिप हुनुपर्छ । अनि त्यसको गुण र दोषको जिम्मा पार्टीले लिन्छ । किनभने यो सरकार चलाउने पार्टीटे हो । सरकारले जुनसुकै काम गर्न मिल्छ, त्यसमा पार्टीले प्रतिबन्ध लगाउन मिल्दैन । तर, ओरिन्टेसन भनेको पार्टीको निर्णयबमोजिम नै सरकारका कामकारबाही अगाडि बढ्नु पर्ने हुन्छ । अहिले सरकार ध्वसांत्मक रुपमा गिराउन मान्छेहरु लागिरहेका छन् । त्यसकारण पार्टी र सरकारबीच तीनै तहमा एउटा संयन्त्र बनाउने निर्णय गरेका छौं । त्यो संयन्त्रले रचनात्मक सहयोग गर्छ, सरकारलाई हस्तक्षेप गर्ने होइन ।
पार्टी एकता भए पनि भावनात्मक एकता भएको देखिन्न नि किन ?
पार्टी एकता भए पनि भावनात्मक एकता नभएको सही हो । अब हामीले फागुन, चैत र वैशाखसम्म तीन महिने अभियान सञ्चालन गर्दैछौं । यो अभियानमा माथि सरकारबाट भएका राम्रा काम र कमीकमजोरीलाई सर्लक्क पार्टीपंक्ति हुँदै जनसमुदायमाझ लान्छौं । पार्टी एकताको मक्सद के हो भन्ने हामीले बुझाउन सकेका छैनौं ।
पार्टी एकता हुुनुको एउटा मिसन छ, उद्देश्य छ, त्यसरी भएको हो । यो कुरा हामीले आमकार्यकर्ता पंक्तिलाई क्लियर गराउन सकेका छैनौं । पार्टी एकताको मिसन भनेको समाजवादी राज्यसत्ता स्थापना हो । अभियानबारे जनसमुदायमा बुझाउन जाँदा जनताका गुनासा, आलोचना र शुभचिन्तकको सुझावलाई सर्लक्क पार्टी नेतृत्व र सरकार नेतृत्वसम्म ल्याउँछौं । यी सबै कुराको मुखरित आगामी बजेटमा हुनेछ । यो विषय र कार्ययोजनाबारे केन्द्रीय समिति बैठकले निर्देश गरेको छ ।
एकता त भयो, सूर्य थापाहरु जनयुद्ध नै नमान्ने अभिव्यक्ति दिइरहेका छन् नि ?
नेताहरुले आफ्नो विषयवस्तु कहाँ राख्ने भन्ने कुरा पहिचान गर्नुपर्ने हुन्छ । आफ्ना विषयहरु कमिटीमा राख्नुपर्ने हुन्छ । चित्त नबुझेका कुराहरु राख्ने ठाउँ छ । हामीभन्दा माथिका लिडरहरुले अझै बुझ्नुपर्छ ।
जसले पार्टी एकताको विरोधमा बोलिरहनुभएका कमरेड हुनुहुन्छ, उहाँहरुको बुझाइ र सोचाइको दरिद्रता हो । उहाँहरुले पार्टी एकताको मूल स्परिट बुझ्नु भएको छैन भन्ने हामीले बुभ्mनुपर्ने हुन्छ । भित्रैबाट उहाँहरुले कुरा व्यक्त गर्नुभएको छ भने । हामीले यो पार्टी एकता कुनै लहडमा गरेका होइनौं । यो कुरा हाम्रा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बोल्नुभएको छ ।
हामीले राजनीतिक प्रतिवेदन छापेर बाहिर ल्याइसकेका छौं । विचारमा के गर्ने, संगठनमा के गर्ने ? हाम्रा तत्कालीन कार्यनीतिहरु के छन् ? दीर्घकालीन योजनाहरु के छन् ? हामी कहाँ पुग्न सकिन्छ ? यी यावत् विषयमा त हाम्रो राजनीतिक प्रतिवेदन आएका छन् नि त । हामीले आप्mनो पदअनुसार हैसियत कायम गरेर बोल्नुपर्छ । पार्टीको अफिसियल लाइनभन्दा बाहिर बोल्न मिल्दैन । जनयुद्ध दिवस पार्टी निर्णयकै आधारमा देशव्यापी रुपमा मनाएको हो । एकाध व्यक्ति र पात्रहरुमा त्यसमा चित्त नबुझेको हुनसक्छ । त्यसकारण ‘माछा मीठो काँडा तितो’ कसैले गर्न मिल्दैन । म ठोकेर भन्न चाहन्छु, राजतन्त्रको अन्त्य यदि माओवादीले २०५२ साल फागुन १ गते जनयुद्धको सुरु नगथ्र्यो भने । त्यो पहलकदमी माओवादी नेतृत्वले गर्ने थिएन भने अहिले सूर्य थापाहरु श्रीमान गम्भीर नेपाली भन्ने राष्ट्रिय गान गाएर बसिरहेका हुन्थे । यो कुरा हामीले भुल्नु हुँदैन ।
हामी कोही न कोही मर्न तयार नभएको भए । कोही न कोही घर छोड्न तयार नभएको भए । कोही न कोही भूमिगत हुन तयार नभएको भए । कोही न कोही परिवारिक स्थितिबाट बाहिर निस्केर आन्दोलन गर्न तयार नभएको भए के राजतन्त्रको अन्त्य हुन्थ्यो ? म दुनियाँलाई प्रश्रुन गर्न चाहन्छु । यो सम्भव थियो ? राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रमा हामीले नयाँ राष्ट्रपति पाएका छौं ।
जनताले आफ्नो संविधान आफ्नो प्रतिनिधिबाट निर्माण गराएका छन् । आफ्नो सरकार आफैले चलाएका छौं । संघीय लोकतान्त्रिक गणतन्त्रमा हामी अभ्यास गरिराखेका छौं । यी मीठा हुने । यत्रो बलिदानलाई, यत्रो संघर्षलाई, त्याग तपस्यालाई नजरअन्दाज गर्ने ? यो कुरा गर्न मिल्दैन । यो पार्टी एकताको बेलामै यी विषयहरुमा छलफल भएका हुन् । यी विषयहरुलाई एकदमै संश्लेष्ण गरेर दस्तावेजमा आएका छन् । त्यो दस्तावेजमा उल्लेख भएका विषयमा हामी बहस छलफल गरौं न ।
हामी घण्टौं छलफल गर्न तयार छौं । तर, यो विषयलाई मेनिपुलेट गर्न पाइँदैन । कार्यकर्ता र जनतालाई दिग्भ्रमित पार्न पाइँदैन कार्यकर्ता र जनसमुदायलाई । यसैका लागि हामीले अभियान चलाउँदैछौं । पार्टीका तल्लो पंक्तिसम्मै बुझाउँदै छौं । कसैले बुझ्नु भएको छैन भने स्पष्ट हुने मौका पनि हुन्छ नै । स्पष्ट हुनु पर्दछ । टीकाटिप्पणी आफ्नो हैसियत अनुसार पनि गर्नुपर्ने हुन्छ । चित्त नबुझेको कुरा पार्टीपंक्तिमा राख्ने हो ।






