काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ग्याल्बो ल्होसार पर्वले आपसी भ्रातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्दै देशलाई आर्थिक समृद्धिमा लैजान सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
सो पर्वका उपलक्ष्यमा सोमबार उनले शुभकामना सन्देश जारी गर्दै नेपाली समाज बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिएकाले अनेक जातीय समुदायसँगको सामिप्यता र सम्मानजनक सामाजिक सद्भाव नेपाली समाजको विशेषता हो भनेका छन् । “देशको यही विविधताभित्रको एकता नै नेपाल र नेपालीको मौलिक पहिचान हो । यस पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु” सन्देशमा भनिएको छ ।







