काठमाडौं । कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार १०० नाघेको मङ्गलबार जनाइएको छ । गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट फैलिएको यस भाइरसको सङ्क्रमण हाल ६० भन्दा बढी देशमा फैलिएको छ ।
यस भाइरसका कारण विश्वभरी कम्तीमा ९० हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । उता संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट ६ जनाको मृत्यु भएको छ ।
यस प्राणघातक कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिइरहेका बेला अमेरिकामा पनि छ जनाको ज्यान गएको अधिकारीहरूको भनाइ छ ।
अमेरिकी उपराष्ट्रपति भन्छन् – कोरोना भाइरसको औषधि तयार हुन छ सात महिना लाग्छ
अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताएका छन् ।
अमेरिकी औषधि कम्पनीहरूले नयाँ कोरोना भाइरसको उपचारका औषधि र खोपहरू विकास गर्न एकअर्कासँग सूचना आदानप्रदान सहित संयुक्त प्रयास गरिरहेको बताइएको छ । उपराष्ट्रपति पेन्सले नयाँ कोरोना भाइरसको खोपको क्लिनिकल परीक्षण छ सातादेखि आरम्भ हुने बताए ।
कोरोना भाइरस सङ्क्रमित चार अमेरिकी नागरिकको सोमबार मृत्यु भएको थियो, र योसहित कूल मृत्यु हुनेको संख्या बढेर छ जना पुगेको छ । अमेरिकामा भाइरल सङ्क्रमित व्यक्तिको संख्या १०० पुगिसकेको छ । सोमबारसम्म यस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३,००० नाघि सकेको छ । यीमध्ये अधिकांश व्यक्ति चीनका रहेका छन् । यद्यपि अन्य मुलुकमा नयाँ सङ्क्रमण दर चीनमा भन्दा १० गुणा बढी रहेको देखिएको संयुक्त राष्ट्र विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
विश्वभर हाल करिब ८८ हजार ९४८ जना कोरोना सङ्क्रमित छन् । अमेरिकाको फ्लोरिडा र वासिङ्टन राज्यमा सार्वजनिक स्वास्थ्य आपतकालीन स्थिति घोषणा गरिएको छ ।






