लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुनसरीको देवानगन्ज, सिरहालगायत स्थानमा भएका दुःखद घटना तथा त्यसपछि केही जिल्लामा विकसित विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।
एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले बिहीबार जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र, पूर्ण र सफल स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको प्रभावकारी उपचारका लागि आवश्यक सबै स्वास्थ्य सेवा तथा सहयोगको तत्काल व्यवस्था गर्न नेपाल सरकारसँग आग्रह गरेको छ।
एनआरएनएले सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नेपालको पहिचान रहेको उल्लेख गर्दै कुनै पनि प्रकारको हिंसा, द्वेष, घृणा वा विभाजनले राष्ट्र र समाजलाई कमजोर बनाउने जनाएको छ।
विज्ञप्तिमा वर्तमान विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाई नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न, सामाजिक सद्भाव कायम राख्न तथा समाजमा शान्ति, सुरक्षा र विश्वास पुनःस्थापित गर्न संवाद, सहकार्य, संयम र आपसी समझदारीका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान खोज्न नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज, स्थानीय समुदाय तथा सम्पूर्ण सरोकारवालासँग हार्दिक अनुरोध गरिएको छ।






