
सर्वोच्च शिखर सगरमाथा, मनास्लु लगायत आधा दर्जन बढी हिमाल चढिसकेकी स्याङ्तानले यही मार्च अन्तिम सातादेखि अन्नपूर्ण हिमालबाट आरोहण थाल्ने योजना सुनाइन् । उनले १४ मध्ये सगरमाथा र मनास्लु चढिसकेकोले अब १२ वटाको आरोहण गर्नेछिन् । ती हिमालहरु सफल आरोहण गरेमा स्याङ्तानले किर्तिमान गर्नेछिन् । १४ हिमाल आरोहण सफल भएमा उनी नेपालको पहिलो महिला बन्नेछिन् ।
एक दशकदेखि पर्वतारोहण क्षेत्रमा लागेकी स्याङ्तानले हिमाल चढ्नु शोख र व्यवसायमात्रै नभइ महिला सशक्तिकरण र मानव बेचविखन अन्त्यका लागि केन्द्रित गर्ने बताइन् । हिमाल आरोहणबारे औपचारिक जानकारी दिन काठमाडौंको स्वयम्भूमा रहेको ‘तामाङ कुदाप’ रेस्टुरेन्टमा आयोजित जमघटमा उनले पर्वतारोहणसँग समग्र राष्ट्रको प्रतिष्ठालाई उचाईमा पुर्याउन र पर्यटन क्षेत्रबाटै कुसंस्कार र कुरीतिको अन्त्य गरी विश्वभर सकारात्मक सन्देश पुर्याउन लक्ष्य रहेको बताइन् ।
त्यस अवसरमा वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ, पूर्वराज्यमन्त्री, समाजसेवी, व्यवसायी लगायतले शर्मिला स्याङ्तानको सहासको प्रशंसा गर्दै शुभकामना दिएका थिए । उपसभामुख तामाङले पृथक् उद्देश्य र सन्देशसहित गर्न लागिएको आरोहणमा सबैले सहयोग गर्नुपर्ने धारणा राखिन् । उनले वाग्मती प्रदेशका पर्यटनमन्त्री, केन्द्र सरकारसँग पहल गर्ने भन्दै संघ सरकारलाई पनि उद्देश्य बुझाउन सकिएमा सहयोग मिल्ने विश्वास व्यक्त गरिन् । आफूले पनि क्षमताले भ्याएसम्म सहयोग गर्ने वचनबद्धता व्यक्त गर्दै पूर्वराज्यमन्त्री रहेका तामाङले आरोहीलाई शुभकामना दिइन् ।
पूर्वराज्यमन्त्री एवं कांग्रेस नेता दिलमान पाख्रिनले १४ वटा हिमाल चढ्ने सहासलाई ‘बहादुरी’ को संज्ञा दिँदै सबैले सहयोग गर्नुपर्ने बताए । उनले पहिले पनि सहयोग गरेको स्मरण गराउँदै अब पनि तयार गरेको धारणा राखे । त्यस्तै पूर्वराज्यमन्त्री परशुराम तामाङले आफू पहिले पर्यटन राज्यमन्त्री भएको नाताले सोही मन्त्रालयमा पहल गर्ने र व्यक्तिगत रुपमा सहयोग गर्ने वचन दिए ।
स्याङ्तानको हिमाल आरोहणका लागि आर्थिक संकलनका लागि इन्दिरा घलेको संयोजकत्वमा ‘शर्मिला लामा १४ हिमाल आरोहरण अभियान सहयोग समिति’ बनाइएको छ । समिति सचिवमा डीबी तामाङ, कोषाध्यक्षमा राजेश्वरी श्रेष्ठ छन् । सचिव तामाङले सञ्चालन गरेको कार्यक्रममा स्याङ्तानको संक्षिप्त बायोग्राफी भिडियो देखाइएको थियो भने सहभागीले सहयोग प्रदान र घोषणा गरेका थिए ।






