काठमाडौँ । मिर्गौला प्रत्यारोपण गरिएको तेस्रो दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको छ । उनको स्वास्थ्यावस्थामा पनि क्रमिक सुधार भइरहेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाका अनु्सार प्रधानमन्त्रीका ‘भाइटल’ र प्रयोगशाला परीक्षणका सूचक सामान्य छन् । मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको स्वास्थ्यस्थितिमा पनि क्रमिक सुधार भइरहेको र उनलाई ठोस आहार दिन थालिएको छ ।
सात दिनभित्र फिर्ता हुने
ओलीले आफू छिट्टै काममा फर्कने बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको प्रत्यारोपणपछि चिकित्सकको निगरानीमा रहेका प्रधानमन्त्रीले शुक्रबार प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाललाई आफैंले टेलिफोन गरी आफ्नो स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको बताएका छन् । “मेरो स्वास्थ्यमा राम्रो सुधार हुँदै गइरहेको छ । म छिटो काममा फर्कन्छु”, टेलिफोन संवादमा प्रधानमन्त्रीले राखेको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार सूर्य थापाले भने, “मेरो स्वास्थ्यमा भइरहेको सुधारका बारेमा साथीहरु र देशवासीलाई भनिदिनुहोला ।”
प्रधानमन्त्री ओलीसँग प्रत्यक्षरुपमा भेटघाट गर्न कसैलाई पनि दिइएको छैन । अङ्ग प्रत्यारोपण गरेका व्यक्तिमा छिटो सङ्क्रमण बढ्न सक्ने जनाउँदै भेट गर्न रोक लगाइएको प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
प्रधानमन्त्रीलाई सात दिनभित्र अस्पतालबाट फर्काइने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले जानकारी दिए ।
प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी लिन आजै अपराह्न गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललगायत शिक्षण अस्पताल पुगेका थिए ।






