हुम तमु
पोखरा । मिर्गौला प्रत्यारोपणपश्चात् स्वास्थ्यलाभ गरिरहेका वरिष्ठ पत्रकार राजबहादुर गुरुङलाई बेलायतबाट ३ लाख ५६ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । उनकै निवास पोखरा १६ दिपमा सोमबार बिहान आयोजित कार्यक्रममा बेलायतमा सकंलित रकम एभरेस्ट टाइम्सका वरिष्ठ फोटो पत्रकार मिलन तमु गुरुङले नगद रकम र चेक हस्तान्तरण गरेका हुन् । सो रकम युवा समाजसेवी तथा सामाजिक अभियन्ता लन्डन निवासी चारभञ्ज्याङकी चेली अन्तिम गुरुङद्वारा शुभेक्छुकबाट संकलित २ लाख र आफ्नो सक्रियतामा गुरुङ चलचित्र मि न्होर्बै ट च्यारिटी शो गरी १ लाख ५६ हजार रुपैयाँ संकलन गरिएको फोटो पत्रकार तमुले जानकारी दिए ।


उनले वरिष्ठ पत्रकार राजबहादुर गुरुङ मिर्गौलापीडित भई उपचाररत रहेको र आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)का अध्यक्ष डण्ड गुरुङले आन्तरिक रुपमा सहयोगको आग्रहपश्चात आफूहरुले यूकेमा शुभचिन्तकहरु बीचमा आन्तरिक रुपमै संकलन गरिएको रकम स्वास्थ्यलाभको सगुनस्वरुप सहयोग हस्तान्तरण गरिएको वरिष्ठ फोटो पत्रकार तमुले बताए ।
मिर्गौला सफल प्रत्यारोपणपश्चात् निवासमै साप्ताहिक रुपमा नियमित स्वास्थ्य परीक्षणमा रहेका गुरुङले सहयोगीहरुलाई धेरै धेरै धन्यवाद दिँदै आफू अचानकजस्तै मिर्गौलापीडित भई उपचारमा रहँदा सबैको साथसहयोग र आशीर्वादले प्रत्यारोपण सफलसँगै स्वास्थ्यमा नियमित सुधार हुँदै आएको जानकारी दिए । उनले मिर्गौला प्रत्यारोपणपश्चात महँगो १३ वटा औषधि दैनिक सेवन गर्नुपरेको बताए ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा सहारा यूकेका सल्लाहकार, फोक्स्टोन नेप्लिज सोसाईटीका पूर्वअध्यक्ष वरिष्ठ समाजसेवी चन्द्रबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष तथा रेडियो अन्नपुर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठ, तमु सञ्चारकर्मी संघ नेपालकी महासचिव तथा पत्रकार रोशनी गुरुङ, तमुधिं नेपालका कार्यवाहक अध्यक्ष तथा पत्रकार हुमबहादुर गुरुङको उपस्थिति थियो ।







