पूर्ण गुरुङ (घान्द्रुके कान्छा), लन्डन । फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टले अल्डरसटको प्रिन्सेस गार्डनमा निर्माण हुन लागेको भिक्टोरिया क्रस पदक विजेता कुलबिर थापाको सालिक निर्माणमा ४ हजार पाउन्ड आर्थिक सहयोग गरेको छ ।
गत आइतबार १५ मार्चका दिन स्थानीय रस्मुर बरो काउन्सिलका मेयर सु कार्टर, सालिक निर्माण समितिका प्रोजेक्ट मेनेजर क्या. ग्यारी घले र ग्रेटर रस्मुर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राईलाई रेस्टुरेन्ट प्रबन्ध निर्देशक एवं एनआरएनए यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङले संयुक्त रुपमा ४ हजार पाउन्डको चेक हस्तान्तरण गरेका हुन् ।
रेस्टुरेन्ट प्रबन्ध निर्देशक अध्यक्ष सूर्य गुरुङले गत १६ फेब्रुअरीका साँझ आयोजित रेस्टुरेन्टको २१ औं वार्षिकोत्सव कार्यक्रममा संकलित ४ हजार पाउन्ड भीसी थापाको सालिक निर्माणमा सहयोग गर्ने जनाएअनुसार सहयोग रकम सम्बन्धित पक्षलाई हस्तान्तरण गरेका हुन् ।
ग्रेटर रस्मुर नेपाली कम्युनिटी यूकेको अगुवाइमा करिब १ लाख २५ पाउन्डको लागतमा निर्माण गर्न लागिएको सालिक निर्माण सहयोगार्थ विभिन्न व्यक्ति र संघसंस्थाहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।






