काठमाडौँ । साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती पक्राउ परेका छन् ।

प्रहरीले यो घटनालाई निकै प्राथमिकता दिएर अनुसन्धान गरेको थियो । उनलाई प्रहरीले मंगलबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । गोरेलाई आजै मोरङ जिल्ला अधालतमा प्रस्तुत गर्ने गरी विराटनगर पठाउन लागिएको छ।
सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा प्रहरीले कूल ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। प्रहरी नियन्त्रणमा रहेका ३० बाहेक अरू ३३ जना फरार छन्। प्रहरीले मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) सहित फरार सबैको खोजी गरिरहेको जनाएको थियो।
जिल्ला न्यायाधिवक्ताको कार्यालयले गत बुधबार १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै उनीहरुविरुद्ध जिल्ला अदालतमा ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरेको थियो।
पछिल्ला केही वर्षदेखि प्रहरीका उच्च अधिकारीदेखि हाइप्रोफाइल व्यापारीहरूसँगको साँठगाँठमा सुन तस्करीको साम्राज्य चलाइरहेका व्यक्ति चूडामणि उप्रेती ‘गोरे’ हुन्। ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या सम्बन्धी छानबिन गर्न सरकारले गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन गरेको समितिले पक्राउ परेका व्यक्तिहरूबाट बरामद प्रमाण एवं फरार रहेका अभियुक्तहरूबीचको आर्थिक कारोबारका आधारमा गोरे तथा उनका सहयोगीहरूले बितेको पाँच वर्षमा ४ सय २१ पटक गरी ३ हजार ७ सय ९९ किलो ५९ ग्राम सुन भित्र्याएको तथ्य फेला पारेको थियो। जसको नेपाली बजार मूल्य १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३१ रुपैयाँ हुन आउँछ।
सरकारले गोरेसहित विभिन्न ६३ प्रतिवादीविरुद्ध १७ अर्ब १ करोड ८० लाख रकम बिगो दाबीसहित जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिसकेको छ। उनीहरूविरुद्ध अपराधिक समूह स्थापना, सुन चोरी निकासीको अवैध करोबार, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान अन्तर्गत मुद्दा दायर गरिएको छ।
पाँच वर्षको अवधिमा ३७ क्विन्टलभन्दा बढी तस्करीको सुन भित्र्याउने योजनाका मुख्य नाइके भनिएका गोरेविरुद्ध नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा ‘डिफ्युजन नोटिस’ जारी गरेर अन्तर्राष्ट्रिय प्रहरीको खोजीको सूचीमा राखेको थियो।
‘गोरे’ अवकाशप्राप्त नेपाल प्रहरीका पूर्व असई नेत्र उप्रेतीका जेठा छोरा हुन्। उनी ‘रुपेश’ नामले समेत परिचित छन्। मोरङको साविक इटहरा (हाल रतुवामाई नगरपालिका) बाट २०५० सालतिर उर्लाबारी बसाइँ सरेका नेत्रले आफ्ना दुई छोरा गोरे र रमेशलाई स्थानीय सरस्वती माविमा भर्ना गरेका थिए। गोरेले बीचैमा पढाइ छोडेर भारतीय सेनामा चार वर्ष जागिर खाए। त्यसपछि ३६ वर्षीय गोरे वैदेशिक रोजगारीका लागि दुबई पुगे। त्यतिबेलासम्म उर्लाबारी– ७ स्थित पशुपति मार्गमा उनको २ तले घर मात्र थियो। सामान्य आर्थिक हैसियतका गोरे विदेश गएर फर्किएपछि काठमाडांैको गौरीघाटमा बस्न थाले। नजिकबाट चिन्नेहरू भन्छन्— त्यसपछि उनको हैशियत एकाएक बदलियो, गोरे नव–धनाढ्यका रूपमा उदाए।
वैदेशिक रोजगारीबाट कुस्त पैसा कमाएकाले आर्थिक हैसियत फेरिएको भनिएका गोरेको आर्थिक समृद्धिको रहस्य अहिले आएर उदांगो भएको छ।






