एटा संवाददाता
नुवाकोट । जिल्लाबाट संघीय संसद् र प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले कोरोना भाइरस (कोभिड १९) प्रकोपविरुद्ध लड्न स्थानीय तहहरुमा भइरहेका तयारीको निरीक्षण गरेका छन् ।
शनिबार प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ, वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ, वाग्मती प्रदेशका सदस्य हिरानाथ खतिवडा लगायतले नुवाकोटमा कोभिड १९ ले आम जनतामा पारेको प्रभाव, रोकथाम, उपचारका आवश्यक तयारी सम्बन्धमा जिल्ला अस्पताल, स्थानीय विभिन्न निकायहरुको अनुगमन गरेका हुन् ।

‘कोभिड-१९ ले नुवाकोटका आम जनतामा पारेको प्रभाव, त्यसको रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक तयारीसँग सम्बन्धित आइसोलेसन, क्वारेन्टाइन वार्डहरु निर्माण, औषधि, उपकरण र अन्य स्वास्थ्य सामाग्री, स्वास्थ्यकर्मीहरुको उपलब्धताको अवस्था, उनीहरुको सुरक्षा सामग्रीहरुको अवस्था, विदेश र जिल्ला बाहिरबाट घर फर्कनेहरुको संख्या र तीनका स्वास्थ्य स्थिति, दैनिक ज्यालादारी एवम् विपन्न समुदायका दैनिकी गुजारा र राहत वितरण र मापदण्ड, त्यसका लागि स्थानीय निकायहरुले गरेको लगत संकलनका प्रगति विवरणलगायत विषयमा अध्ययन तथा छलफल गरियो’, पूर्वमन्त्री रहेका तामाङले भने, ‘त्यस क्रममा जिल्ला अस्पताल त्रिशूली, शिवपुरी गाउँपालिका कार्यालय, पञ्चकन्या, दुप्चेश्वर गाउँपालिका र तादी गाउँपालिका कार्यालयहरुमा पुगेका थियौं ।’
कोरोना भाइरससँग लड्न जिल्लामा भइरहेको तयारी ठीकै अवस्था रहेको सांसद तामाङको भनाइ छ । सांसद तामाङका अनुसार स्थानीय तह र विभिन्न निकायका प्रमुखहरुले औषधि उपकरण बेलैमा उपलब्ध हुनुपर्ने, चिकित्सकलगायत प्राविधिक जनशक्ति उपलब्ध हुनुपर्ने र स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने पीपीईलगायतका बन्दोबस्तीका सामग्रीहरु उपलब्ध गराई मनोबल बढाउने सवालमा राज्यले विशेष ख्याल राख्नुपर्ने विचार राखेका थिए ।
संघीय सांसद तामाङ र उपसभामुख तामाङले गाउँपालिकाहरुले आफ्नो तर्फबाट गरेका पहलकदमी र तयारीको उच्च प्रशंसा गर्दै अपुग स्वास्थ्य सामग्रीका लागि आफ्नो ठाउँबाट जति सक्दो छिटो पहल तथा समन्वयात्मक भूमिका खेल्ने र यो महामारीसँग जुध्न सम्पूर्ण जनतासँग हुने वचन दिए । उनीहरुले कसैलाई समस्या पर्दा आफूहरुलाई सिधै सम्पर्क गर्नसमेत अनुरोध गरेका छन् ।
भ्रमणको बीचमा सम्बन्धित गाउँपालिकाका प्रमुख एवम् अन्य जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्यकर्मी तथा स्थानीय तहका कर्मचारीहरुसँग अन्तर्क्रियात्मक छलफल गरिएको थियो । भ्रमण टोलीमा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, एसपी अभिनारायण काफ्ले, जिल्ला जनस्वास्थ्य समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपाने, जिल्ला अस्पताल त्रिशूलीका सुपरिटेन्डेन्ट रेमकुमार राई, जनस्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र तामाङ लगायतको सहभागिता थियो ।
भ्रमणको क्रममा सांसदहरुले शिवपुरी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र तादी गाउँपालिकालाई १/१ थान उच्च तापक्रम मापन यन्त्र (इन्फ्रारेड थर्मोमिटर) वितरण गरेका थिए ।
सरकार कोरोनाको जोखिम न्यूनिकरणका लागि घोषणा गरेको लकडाउनले शनिबार १२ औं दिन पार गरेको छ । शनिबारसम्म संक्रमितको संख्या ९ पुगेको छ । संक्रमित संख्या बढ्दै गएमा २५ गते मध्यरातिसम्म तोकिएको लकडाउनको अवधि बढाउने तयारीमा सरकार छ ।








