बादलदेवी चाम्लिङ

यो समाज
कुची र रङ लिएर क्यानभास अगाडि बस्यो ।
चरित्ररेखा कोर्दै गयो
नाक, मुख, आँखा राखेपछि मोहडा देखियो
घाँटी
छाती हुँदै
शरीरको तल्लो भाग देखाउन कुची दौडाउन थाल्यो ।
कम्मर
नितम्ब हुँदै पाइतालाले जमिन टेक्यो
मलाई लाग्यो
अरू अँटेको धर्ती अब उनको पनि हुने भयो ।
शिरको कल्की
भरभराउँदो जूनजस्तै
हातमा सल्वलाएको लय
बेगमबेली, भुईँचम्पाको जस्तै
चेहराको दीप्ति
कञ्चनजङ्घाको नूरजस्तै
पूर्ण शरीरको गठन
अजेय योद्धाको जस्तै
मलाई लाग्यो
यो समयको आह्वान एक वीराङ्गनाको जन्म भइसक्यो ।
पूर्व त्यसै उज्यालो हो
पश्चिमको आफ्नो गौरव छँदैछ
उत्तरी हिमाल आफैँमा पवित्र हो
शिरिष फूल लिएर दक्षिण पनि
उनको आगमनलाई स्वागत गर्न तम्तयार भो ।
वेगमा रहेको हावालाई ठप्प रोकेर एउटा कुतूहल कताबाट आएर ठिङ्रिङ्ग उभियो ।
यहाँसम्म आइपुगेपछि त
कसो कसो यो समाज कड्कियो
निधारमा चिटचिट पसिना
छटपट छटपट
उठ्दै बस्दै
ऊ अनियन्त्रित देखियो ।
मलाई शङ्का लाग्यो
ए ए…..बिस्तारै है भनेँ
कुची उठाएर तप्लङ्ग एक तप्को रङ चोब्यो
सुलुलुलु गुजुल्टो परेको कपाल देखाइदिइ त हाल्यो
मुखमा दाह्रा
औंलामा हतियारझैँ लाग्ने नङ्ग्राहरू थपिदियो
सौभाग्य र स्व–पराक्रमको प्रतीक रातो बिन्दी सुहाउँछ
बिन्ती गर्दै छु
तप्लक्कै कालो टीका पो लगाइदियो ।
यतिन्जेलसम्म
अशुभले साम्राज्य जमाइसकेको थियो
ठूलो भीड
अलग्गै पर बसेर यो तमासा हेरिरहेको थियो ।
यसरी यो समाजले आफू खुसी क्यानभासमा एउटा आकृति उतार्यो
र नाम दियो
बोक्सी ।






