पोखरा । विश्व नै कोरोना भाइरसले आक्रान्त बनिरहेको बेला बेलायत निवासी माइलाकान्छा अर्थात् पार्वती गुरुङ र माया गुरुङ दिनदुखीका सहारा बनिरहेका छन् ।
बेलायत-नेपालमा लकडाउन जारी भएको समयमा पोखरामा रहेका पार्वती र मायाले नेपालका क्यान्सरपीडित, गरिबीले सताएका जस्ता पीडितलाई सहयोग गरेका हुन् । माइलाकान्छाले बुधबार सिराहाको लहानमा स्थायी घर भई हाल पोखरा—१७ छोरेपाटनमा भाडामा बस्दै आएका रामदेव साहका परिवारलाई २० हजार रकम सहयोग गरेका छन् । बैशाख २५ गते बिहान उपचारकै क्रममा ३९ वर्षीय श्रीमती प्रमिलाको जन्डिसका कारण निधन भएको थियो । रामदेवलाई आफूहरुले ५/५ हजार, कालाबाङ घर भई हाल युके बस्ने भीममहेन्द्र गुरुङ ५ हजार, मट्टिखान घर भई हाल यूके बस्ने याम गुरुङ र तारा गुरुङबाट ५ हजार गरी जम्मा २० हजार सहयोग गरेको पार्वतीले जानकारी गराइन् ।

रामदेव जस्तै ज्याला मजदुरी गरेर खाने र समस्यामा परेका परिवारको घरमै पुगेर सहयोग गर्नमा तल्लिन छन् उनीहरु । आफैंले सहयोग गरेको रकम फेसबुकमार्फत लाइभ गर्दा विदेशमा भएका नेपालीहरुले स्वत:स्फूर्त रुपमा सहयोग पाएको पार्वतीले बताइन् । गएको ३ महिनाको समयमा उनीहरुले करिब ९ लाखबराबर राहत गरिब विपन्नलाई सहयोग गरेका छन् ।

त्यस्तै दुवै मिर्गौला फेल भएको पर्बत बालाकोट महासिला गाउँपालिकाका ३२ वर्षीय सबिना गुरुङलाई (हाल पोखरा १२ शितलादेवीमा बसोबास) लाई ४१ हजार १५० सहयोग गरेका थिए । सोँपाल समाज यूकेका ध्रुव गुरुङ १०१५०, पर्वत डाँडाखर्क यूकेका मनमाया गुरुङ १० हजार, जुनकिरी च्यारिटी ग्रुप बेलायतका माया गुरुङ, बत्ति गुरुङ, रमिला गुरुङ र पार्वती गुरुङबाट संकलित रकम १० हजार, भाचोक मादी गाउँपालिकाका यूके निवासी उत्तरबहादुर गुरुङले दिएको ५ हजार लगायत गरी उक्त रकम दिइएको बताए ।
त्यस्तै गरिबी र लकडाऊनको कारणले बिरामी आमालाई उपचार गर्न नसकी छोराले आत्महत्या गरेको र ३ दिनपछि आमा पनि बितेपछि समस्यामा परेका परिवारालई स्याङ्जा धोवाडी लन्डन प्लमस्टेड निवासी चन्दा थापा, ल्वाङ घलेलका लन्डन निवासी माया गुरुङ र ल्वाङ शान्तिदीप यूके फाम्ब्रो निवासी कुमार गुरुङ र दुर्गी गुरुङबाट क्रमश: १५ हजार, १० हजार र कुमारका दम्पतीबाट प्राप्त ५ हजार हस्तान्तरण गरिएको थियो ।
संघसंस्थामार्फत उक्त रकम राहत स्वरुप प्रदान गर्दा पीडितसमक्ष नपुगेको गुनासो सुनेपछि उनीहरु आफैं खटिएका हुन् । सरकारको मात्र मुख ताकेर बस्ननुहने माया गुरुङ बताउँछिन् ।

आपतविपतका समयमा हर नागिरकले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनको बुझाइ छ । ‘सरकारले कोरोना रोकथाम र उपचारका लागि आर्थिक कोष खडा गरेको छ । करोडौ रकम संकलन हुँदा विपन्न परिवारमा राहत पुगेको छैन । राहतमा समेत बिचौलियाहरुको हाबी छ । सरकारले विपन्नलाई सहयोग गर्न चाहनेलाई विपन्न परिवारसम्मै पुगेर सहयोग गर्ने वातावरण मिलाउनुपर्छ’, उनले भनिन् । अक्षयकोषको स्थापना गरेपश्चात् सही समयमा सही ठाउँमा सदुपयोग हुनुपर्ने उनको सुझाव छ । उनका अनुसार सरकारले राहतको व्यवस्थापन छिटोछरितो गर्नुपर्छ ।






