लन्डन । १४ र १६ जनवरी १९८० (विक्रम सम्वत २०३६ साल माघ १ अनि ३ गते)मा ब्रिटिस भर्ती भएकाहरुको संस्था ‘१/१९८० इन्टेक बहुदल’को आगामी जुन ६ मा २०२६ मा २०औं वार्षिक भेटघाट कार्यक्रम हुने भएको छ ।
बेजिङस्टोकस्थित पोप्ली कम्युनिटी सेन्टरमा मध्याह्न १२ बजेदेखि साँझ ८ बजेसम्म कार्यक्रम हुने परशु गुरुङ
३६६८ QGE ले जानकारी दिएका छन् । उक्त कार्यक्रममा नेपालबाट आएकी लोकप्रिय गायिका रुपी सिंजाली मगरको बेजोड प्रस्तुति रहने उनले बताए । कार्यक्रमबारे थप जानकारीको लागि संयोजक बलबहादुर थापा (पर्शे)लाई सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।
बेलायतवासी सम्पूर्ण नम्बरीहरु र परिवार सहभागी भई कार्यक्रम सफल बनाइदिन आयोजकले विनम्र अनुरोध गरेको छ ।
किन १/१९८० इन्टेकलाई बहुदलको नाम दिइयो ?
१४ र १६ जनवरी १९८० (विक्रम सम्वत २०३६ साल माघ १ अनि ३ गते) क्रमशः धरान र पोखराबाट धेरैको संख्यामा ब्रिटिस आर्मीमा भर्ना भएका थिए । धेरै संख्यामा एकै चोटी भर्ती भएकाले र तत्कालीन नेपालको परिवेशमा पनि बहुदल ल्याउनका लागि विभिन्न दलहरु गठन गरिएको र अनिश्चित रुपमा आन्दोलनहरु भइरहने हुनाले समय सांपेक्षित मिल्दो भएको कारणले ब्रिगेड अफ गोर्खाज्मा (१/१९८० इन्टेक)लाई बहुदलको संज्ञा दिएको तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष एवं ईलम पोखरी समाज यूकेका अध्यक्षसमेत रहेका परशु गुरुङले जानकारी गराएका छन् । ‘त्यसबेलादेखि हामी बहुदलले चर्चित छौं । तर हामी उग्रवादीचाहि पक्कै होइनौं, विध्वंस पनि मच्चाएका छैनौं । नूनको सोझो गर्नेहरु छौं हामी सबैजना,’ उनले प्रस्ट्याउँदै भने ।
बेलायत बसाईको क्रममा विभिन्न माध्यमबाट आवासीय भिसाको सहुलियत प्राप्त हुनुभन्दा अगाडि नै एकादुई नम्बरीहरु यहाँ बेलायतमा बस्दै आएका थिए । खासै त २००६ देखि बेलायतको बसाईमा विस्तारै नम्बरीहरुको संख्या बढ्दै आयो । कुनै नम्बरीको परिवारभित्र कुनै समस्य पर्छ भने मानवताको नाताले यो बहुदल समूहले सहयोग गर्दै आइरहेको छ ।
३४५७ रने गुरुङ (Lieutenant) (संस्थापक अध्यक्ष)को नेतृत्वमा कार्यसमिति गठन गरी १/१९८० इन्टेक बहुदलको नामबाट संगठित भएको हो । यस समूहले कुनै नम्बरी वा उहाँको धर्मपत्नीको निधन भएमा समूहबाट जनही १० पाउन्ड संकलन गरी शोकसन्तप्त परिवारलाई सान्त्वनास्वरुप हस्तान्तरण गर्दै आइरहेको छ । त्यसबाहेक यो समूहले बेलायतका विभिन्न स्थानमा बसोबास गरेका सम्पूर्ण नम्बरीहरुलाई वर्षमा एकपटक एकार्कमा भेटघाट गर्ने/गराउॅने विचारले हरेक वर्ष ‘वार्षिक भेटघाट कार्यक्रम’ को आयोजना पनि गर्दै आएको छ । यो कार्यक्रम २००७ सालदेखि कोभिडको समयमा बाहेक हरेक वर्ष निरन्तर हुँदै आइरहेको छ ।






