नुवाकोट । जिल्लाको पञ्चकन्या गाउँपालिका २ कविलास-छहरे खोला नजिक वातावरणीय मापदण्डविपरीत सञ्चालित क्रसरले खनेको खाल्डोमा परी बालकको ज्यान गएको छ ।
नाट्यश्वरी रोडाढुंगा उद्योगले बालुवा उत्खनन गरेको खाल्डोमा परी बुधबार पौडी खेल्न गएका ९ वर्षीय सन्देश सुनारको मृत्यु भएको हो । डुबेर बेहोस् भएका बालकलाई उपचारका लागि काठमाडौंको लैजाने क्रममा बाटोमै मृत्यु प्रहरीले जनाएको छ । क्रसरले उत्खनन् गरेको खाल्डोमा परेर बालकको ज्यान गएको भन्दै मृतकका आफन्त र स्थानीयले परिवारलाई क्षर्तिपूर्ति दिनुपर्ने माग गरेका छन् । उनीहरुले बुधबार दिउँसो छहरे–गुर्जेभन्ज्याङ सडक दिनभरजसो अवरोध गरेका थिए ।
नाट्यश्वरी क्रसर उद्योग लिखुको खोलासँगै पञ्चकन्या–छहरे जोड्ने पक्की पुलको छेउमै छ । जुन वातावरणीय मापदण्डअनुसार सञ्चालनमा छैन । बालकको शव पोष्टमार्टमको लागि टिचिङ अस्पताल पठाइएको छ । आफ्नो गाउँठाउँ असुरक्षित भएको भन्दै उनीहरु आक्रोशित छन् । लिखु खोलामा बालुवा निकाल्नका लागि क्रसरले मेसिन लगाएर गहिरो खाल्डो बनाएको र गहिरोको अनुमान नभएकोले बालक डुबेको स्थानीयहरुले बताएका छन् ।
वर्खायाम लाग्ने बेलामा नुवाकोटका खोला नदीहरुमा बालुवा व्यवसायीहरुले यस्ता खाल्डा खुल्डी बनाएर राख्ने गरेका छन् । नदीमा आएको बाढीले ल्याउने बालुवा खाल्डोमा जमाउन र आफु अनुकुल खोलामा मेसिन प्रयोग गरेर निकाल्नका लागि नदी सानो भएको बेलामा खाल्डो पार्ने गरेका छन् ।
नुवाकोटमा मात्रै करिब २ दर्जन क्रसर
नुवाकोटमा मात्रै करिब २ दर्जन क्रसर छन् । ती सबै अवैध रूपमा सञ्चालन भइरहेका छन् । ०७४ फागुनमा सर्वोच्च अदालतमा क्रसर र फिरफिरेको विषयमा परेको मुद्दा विचाराधीन छ । घरेलु तथा साना उद्योग विकास समितिका अनुसार जिल्लामा दर्ता भई नवीकरण नभएका ९ वटा क्रसर छन् । त्यसमध्ये जालपादेवी रोडाढुंगा उद्योग बन्द छ भने नाट्यश्वरी रोडाढुंगा उद्योगले भूकम्पपीडितका लागि भनेर उच्च अदालतबाट स्वीकृति ल्याएको छ । त्यो पनि मापदण्डअनुसार छैन । उक्त क्रसर खोला किनार र पक्की पुल छेउमा छ ।
विनपा ५ को बर्डस्टोन र लिखु गाउँपालिका १ को सूर्यकुण्ड रोडाढुंगा उद्योग सञ्चालनमै छन् । विशाल रोडाढुंगा उद्योग, हिमाल एग्रिगेट, त्रिशूली एग्रिगेट, बेलकोटको निञ्जना र श्रीएग्रिगेट रातोमाटे बन्द छन् । जिल्लामा ६० वटा फिरफिरे छन् । समितिमा दर्ता भएका ४९ वटा छन् । एउटा फिरफिरेले सञ्चालनको मागसहित सर्वोच्चमा मुद्दा दायर गरेको छ ।
तादीमा ९ वटा, लिखुमा १, फलाखुमा २, त्रिशूलीमा ६/७ र कोल्पुखोलामा क्रसर र फिरफिरे गरी ११ वटा क्रसर छन् । अधिकांश क्रसर उद्योग सडक निर्माण गर्ने र भूकम्पपीडितलाई ढुंगा, गिट्टी र बालुवा दिने भनेर सिधै खोलाछेउमा अवैध रूपमा सञ्चालन भइरहेका छन् । ०७३ असार मसान्तयता कुनै पनि उद्योग नवीकरण नभएको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।
अवैध बालुवा झिक्ने कार्य बेलकोटगढी नगरपालिका कोल्पुखोला, रातोमाटे, महादेवफाँट, काशीटार, विनपा ५ को तादी भन्ने पीपलटार मुनि, देवीघाट नयाँपुल, विनपा ६ को चण्डीपोखरी, विनपा ४ सिमचौर, विनपा ८ सामरी खोला राइसिङ, किस्पाङ ५ मनकामना, लिखु गापाको ४ को रानीबार, गणखार, ढुडे, छहरे लगायतका स्थानमा झिक्ने गरिएको छ ।
क्रसर उद्योग सञ्चालन गर्न दिन माग गर्दै त्रिशूली बालुवा प्रशोधन उद्योगले जिल्ला प्रशासनलाई विपक्षी बनाउँदै सर्वोच्चमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा न्यायाधीशहरू मीरा खडका र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले ०७५ असार ३१ मा खोलामा सञ्चालित क्रसर तत्काल बन्द गर्न आदेश दिएको थियो ।






