घलेभन्ज्याङ (नुवाकोट) । जिल्लाको पञ्चकन्या गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेको संख्या १४ पुगेको छ । भारत लगायत विभिन्न मुलुकबाट भित्रिएकाहरुलाई पालिकाको विभिन्न स्थानमा बनाइएको क्वारेन्टाइनमा राखिँदै आएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीले वडा नं १ मा २, २ मा ६, ३ मा २, ४ मा ३ र ५ मा १ गरी १४ जना रहेको जानकारी दिए । उनका अनुसार पालिकामा ५४ बेड तयार छन् ।
पालिकाले तत्काललाई वडा नं ४ मा रहेको घ्याङस्वाँरामा रहेको रिसोर्ट, विभिन्न विद्यालय र हेल्थ पोस्टलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्दै आएको छ ।
प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले आइतबारदेखि वडा नं. २ स्थित कालिका माविको क्वारेन्टाइन पनि सञ्चालनमा ल्याइएको छ । जुन क्ववारेन्टाइनलाई पालिकास्तरीय बनाइने भएको छ । जहाँ विभिन्न ठाउँमा रहेकाहरुलाई एकत्रित गरेमा पूर्ण सुविधा दिने अपेक्षा रहेको उनले बताए । कालिकाको क्वारेन्टाइनका लागि मंगलबारदेखि नेपाली सेना खटिने भएको छ । प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले भने, ‘आज (आइतबार) निरीक्षण गरेर गए । कागजी प्रक्रिया पूरा गरेर पर्सि आइपुग्ने कुरा छ ।’
पालिकामा आइसोलेसन बेडसमेत सञ्चालनको तयारी रहेको उनले जानकारी दिए ।






