एटा संवाददाता ।
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले नेपालको भूमि अतिक्रमण विरुद्ध भारतलाई विरोधपत्र पठाएको छ । सोमबार ८ जुनका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्वोधन गर्दै लण्डनस्थित भारतीय हाईकमिशनमार्फत उक्त विरोध पत्र हुलाकबाट पठाइएको हो । भारतले नेपालको कालापानी, लिम्पीयाधुरा, लिपुलेक क्षेत्रमा भूमी अतिक्रमण गर्दै सडक समेत निर्माण गरेको छ । भारतले सो क्षेत्रलाई गत डिसेम्बर २०१९ मा आफ्नो नाक्सामा समेत समावेश गरेको थियो । नेपालले त्यसैबेला उक्त क्षेत्र नेपाल भित्र पर्ने र वार्ताबाट समस्या समाधान गर्नुपर्ने माग राखिरहेको अवस्थामा भारतले सो क्षेत्रमा सडक निर्माण गरी हालै उद्घाटन गरेका थिए । तत्पश्चात नेपालले समेत सो क्षेत्र नेपालको नाक्सामा समावेश गरेको छ । तर, सो सम्बन्धमा नेपाल र भारतबीच औपचारिक सम्वाद भने हुन सकेको छैन । भारतको सो विस्तारवादी नीतिको नेपालमा समेत व्यापाक रुपमा बिरोध भैरहेको अवस्थामा एनआरएनए युकेले विरोध गरेको हो ।

सन् २०१५ मा भारतले नेपालमा नाकाबन्दी गरेको बेलामा समेत एनआरएनए युकेले बिरोध प्रर्दशन गरेको थियो भने गत डिसेम्बरमा समेत लण्डनस्थित भारतीय हाईकमिशनमा गई बिरोध पत्र बुझाएका थिए । भारतले सो क्षेत्रमा सडकनै निर्माणगरी उद्घाटन गरेकोले उक्त कार्यको एनआरएनए युकेले लण्डनस्थित हाईकमिशनमानै उपस्थित भई बिरोध पत्र बुझाउनु पर्नेमा अहिले कोरोना भाइरसका कारण लकडाउन भएकोले सो विरोध पत्र हुलाकमार्फत पठाइएको हो । उक्त विरोधपत्रलाई एनआरएनए युकेका अध्यक्ष पुनम गुरुङ तथा महासचिव फडिन्द्र भट्टराई लगायतको बिशेष उपस्थितिमा बेलायतको अल्डरसटको स्थानीय हुलाकबाट पठाइएको थियो । त्यस्तै, मिडल्याण्डमा एनआरएनए युकेका सचिव सचिव कृष्ण ढकालले, स्कटल्याण्डमा उपाध्यक्ष मोहन कार्की तथा राज्य परिषद अध्यक्ष छविलाल अर्याल, वेल्समा उपाध्यक्ष रामचन्द्र पोख्रेल तथा राज्य परिषद अध्यक्ष कृष्ण भण्डारी र आयरल्याण्डमा उपाध्यक्ष नारायण कंडेल तथा राज्य परिषद अध्यक्ष नारायण कुँवर लगायतको समूहले सो बिरोध पत्रलाई स्थानीय हुलाकमार्फत भारतीय हाइ कमिसनमा पठाएका हुन् ।

एनआरएनए युकेकी अध्यक्ष गुरुङलगायतको समूह अल्डरसटस्थित एम्पायर हलमा भेला भई एनआरएनए युके व्यानर सहित ‘कालापानी लिपुलेक हाम्रै हो, हाम्रै हो’ भन्दै अल्डरसटको बजार परिश्रमा गर्दै स्थानीय हुलाकमा पुगेका थिए । सो अवसरमा अध्यक्ष गुरुङले अंग्रेजीमा लेखिएको उक्त विरोध पत्र पढेर सुनाएका थिए । त्यस्तै, मिडल्याण्डमा एनआरएनए सचिव कोश्लेश्वर ढकाल, एनआरएनए आईसीसी सदस्य दयानिधी सापकोटा, साझा नेपाली समाजका अध्यक्ष महेश अधिकारी, रणबहादुर केसी लगायतले समेत भारतीय अतिक्रमणको विरोध गर्दै आ–आफ्नो भनाई राखेका थिए । सो अवसरमा मिडल्याण्डका विभिन्न स्थानबाट बिरोध स्वरुप करीब २८ जना एनआरएन अभियन्ताहरु पुगेका थिए । साथै, स्कटल्याण्डमा समेत धेरैको सहभागीता रहेको थियो भने नर्दन आयरल्याण्ड र वेल्समा भने सामाजिक दुरीका कारण थोरैको संख्यामा हुलाक पुगेका थिए ।
एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङले अल्डरसटको हुलाकबाट सो बिरोध पत्र पठाए पश्चात कोण सभाको आयोजना गरिएको थियो । सो अवसरमा एनआरएनए आईसीसी सदस्य योगकुमार फगामी, उपाध्यक्ष एनआरएनए युकेकी उपाध्यक्ष रोजिना प्रधान राई, उपाध्यक्ष प्रेम गाहामगर, तामाङ्ग घेदुङ्ग राजेन्द्र तामाङ्ग लगायत भारतीय अतिक्रमणको विरोध गरेका थिए । त्यस्तै, एनआरएनए आईसीसी महासचिव डा. हेमराज शर्मा समेत जुम भर्चुअलमा सहभागी हुदै, कोभिडको गाह्रो परिस्थितिमा पनि नयाँ खालको उपायको खोजी गरी विरोध गरेकोमा एनआरएनए युकेप्रति धन्यवाद ज्ञापन गरे । इंल्याण्ड राज्य परिषदका अध्यक्ष दिपक श्रेष्ठले आपूm सहभागी हुन नपाएतामा पनि परिषदको उपाध्यक्ष लालबहादुर गुरुङ (एलबीजेड) को सहभागी भएको बताउँदै भर्चुअलमार्फत सबै साथीहरुलाई धन्यवाद दिए ।
सो अवसरमा अध्यक्ष गुरुङले आईसीसी महासचिव, आईसीसी सदस्य, राष्ट्रिय समवन्य परिषद तथा राज्य समवन्य परिषदका साथीहरु, संघसंस्थाका अध्यक्षहरु, शुभचिन्तक लगायत सबैलाई धन्यवाद दिईन् । एनआरएनए युकेले उक्त बिरोधपत्र पठाउने कार्यको सचिव जीत रानाभाटले एनआरएनए युकेको पेजबाट फेसबुक लाईभ गरेका थिए ।
तस्बीर: मिलन तमु







