लन्डन । बेलायतमा सक्रिय ‘सेभेन सिस्टर्स’ले वेल्सको ब्रेकन सहरमा निर्मित नेपाली भिलेज यूके परियोजनाको तीनदिने भ्रमण गरेका छन् ।
सेभेन सिस्टर्सको समूहले यही जुन ५ देखि ७ तारिखसम्म भ्रमण गरेका हुन् । टोलीले ७ जुनमा आयोजित ४१औँ गोर्खा फ्रिडम परेड पनि अवलोकन गरेको थियो । सेभेन सिस्टर्समध्येकी एक समाजसेवी पार्वती गुरुङले आफूहरुलाई न्यानो स्वागत गरी गोर्खा फ्रिडम परेडमा सहभागी गराउन तथा ब्रेकन र रेडनोर्सका लागि सांसद डेभिड चाडविकसँग भेट गराउने अवसर जुराइदिएकोमा नेपाली भिलेज यूकेका प्रबन्ध निर्देशक मेजर खुशीमान गुरुङ एमभीओलाई समूहको तर्फबाट धन्यवाद दिइन् । साथै तीन दिने बसाइमा साथ दिने परियोजनाकी मार्केटिङ डाइरेक्टर जसु गुरुङ मुसेन्सलाई धन्यवाद दिँदै नेपाली भिलेज यूके जाँदा नेपालको सम्झना मेटिएको बताइन् । उनले नेपाली भिलेज बास बस्न र घुम्नै पर्ने उपयुक्त ठाउँको रुपमा विकास भएको भन्दै इच्छुक व्यक्तिहरुलाई भ्रमणमा जान आग्रह गरिन् ।

समूहमा तीनजना कमला गुरुङ, विष्णु गुरुङ, तारा गुरुङ, लक्ष्मी गुरुङ र पार्वती गुरुङ छन् । उक्त समूहले बेलायतमा हुने विभिन्न मेला, महोसत्वमा काक्रो, चिया, सुन्तला, माछाजस्ता सानोतिनो व्यापार गरेर भएको आम्दानी कोषमा जम्मा गरेर पीडित र विभिन्न सामाजिक काममा सहयोग गर्दै आएका छन् ।
नेपाली भिलेज यूकेका प्रबन्ध निर्देशक मेजर खुशीमान गुरुङ एमभीओले लन्डनबाट घुम्न आएका ‘सेभेन सिस्टर्स’लाई वेल्सको ब्रेकनस्थित एनभी होलिडे फार्महाउसमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । ‘गत सप्ताहन्तमा हामीले लन्डनबाट घुम्न आउनुभएका ‘सेभेन सिस्टर्स’लाई वेल्सको ब्रेकनस्थित एनभी होलिडे फार्महाउसमा स्वागत गर्ने अवसर पायौं । उहाँहरूले भोजनपश्चात् हाम्रो अनुरोधमा ब्रेकनमा आयोजित ४१औँ गोर्खा फ्रिडम परेड पनि अवलोकन गर्नुभयो । वेल्समा बिदा मनाइरहेका बेला आफ्ना सामाजिक सञ्जालमार्फत हाम्रो परियोजनाको प्रवर्द्धन गर्न सहयोग गर्दै हाम्रो निमन्त्रणा स्वीकार गर्नुभएकोमा हामी ‘सेभेन सिस्टर्स’प्रति हार्दिक आभारी छौं,’ मेजर गुरुङले भन्नुभयो, ‘एनभीयूकेको प्रवर्द्धनमा निरन्तर समर्पित रहनुभएकी पार्वती नेपाली दिदीप्रति विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु ।’
सोही अवसरमा सेभेन सिस्टर्सका दुई सदस्यलाई शेयर प्रमाणपत्र हस्तान्तरण गरिएको पनि मेजर गुरुङले बताए ।

उहाँले थप्नुभयो, ‘एनभी फार्महाउस केवल रमाइलो बिदा बिताउने गन्तव्य मात्र होइन, यो शेयरधनीहरूको आफ्नै घर पनि हो। सुन्दर प्राकृतिक परिवेश र शान्त वातावरणले भरिपूर्ण यो स्थान आराम, आनन्द र मानसिक ताजगीका लागि उत्कृष्ट गन्तव्य बनेको छ ।’
यही हप्ता बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी, नेपाल पत्रकार महासंघ बेलायत शाखाकी अध्यक्ष विमला सेने नेतृत्वको टोलीलगायतले नेपाली भिलेज यूकेको भ्रमण गरेका थिए ।










