खोटाङ २९ साउन । जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खु शिवालयकी ६९ वर्षीया डम्बरकुमारी राईलाई वडा कार्यालयले सहारा दिएको छ ।
सन्तान नभएको र श्रीमान्को समेत मृत्यु भइसकेपछि बेसहारा जीवन बिताइरहेकी राईको छाक टार्ने व्यवस्थाको जिम्मा वडा कार्यालयले लिएको हो । हातगोडा चल्न छाडेको र खेतीपातीको काम गर्न नसक्ने अवस्थामा पुगेकी वृद्धाको खाने, बस्ने र औषधि उपचार गर्ने जिम्मा वडा कार्यालयले लिएको वडाध्यक्ष विदुरमान राईले बताए ।
विसं २००८ मा जन्मिएकी डम्बरकुमारीका श्रीमान्को पाँच वर्षअघि मृत्यु भएको छिमेकीले बताएका छन् । श्रीमान्को समेत मृत्यु भइसकेपछि सहाराविहीन बनेकी डम्बरकुमारीलाई बूढौलीपनले छुनुका साथै आफैँ काम गरेर जीवन निर्वाह गर्नसक्ने अवस्था नभएपछि वडा कार्यालयले सहारा दिएको हो । कान नसुन्नुका साथै हिँडडुल गर्न पनि नसक्ने अवस्थामा पुगेकी डम्बरकुमारीको करिब दुई रोपनी मात्र जग्गा छ ।
गत वर्षसम्म जेनतेन कुटो कोदालो गरेर खेतीपाती गर्दै आएकी डम्बरकुमारी यस वर्षदेखि घरभित्र बाहिर गर्नसमेत नसक्ने अवस्थामा पुगेका उनी बाँचुञ्जेलसम्म खाने, बस्नेका साथै औषधि उपचारको व्यवस्थाको जिम्मा लिइएको वडाध्यक्ष राईले बताए ।






