
कृष्ण गुरुङ
अगस्ट १३ ग्रान्थममा घरको चाबी लिएपछि एकछिन सोचे रिक्सेसनमा ? तर खुसी पनि लाग्यो घरमा लगानी लङटर्मका लागि हो अनि सकभर किन्दै मिलाएर किन्दा अनि लोकेसनमा किन्दा राम्रै हुने प्रिन्सिपल सम्झे । आफूबाट राम्रै निर्णय भयो भन्नेमा १०० प्रतिशत नै सहमत हुँदै पुन: अरु डिलको पनि खोजी सुरु गरेँ ।
साधारण लगानीको आफ्नै नियम हुन्छ जुन रिक्सेसनजस्तो अवस्था त झन् विशेष सतर्क भई निर्णय गर्नु पर्ने हुन्छ । अहिले बेलायत अफिसियाल्ली रिक्सेसनमा गएको सरकारी तथ्यांकले नै देखाइसकेको छ तर मेरो विचारमा यो समयमा विशेष लगानी गर्न नहुने या विशेष ध्यान दिनु पर्ने सेक्टरहरु र यो समयमा लगानी गर्दा फाइदा हुने सेक्टर छुट्याएर लगानी गर्दा धेरै नै बुद्धिमता हुन्छ भन्ने मलाई लाग्छ । यो समय हामी जस्तो साधारण व्यक्तिहरुको लागि राम्रो मौका हुन सक्छ।
मैले ग्रान्थममा लगानी गर्नु र यस छेत्रलाई सेन्टर पोइन्ट बनाउनुमा थुप्रै कारणहरु छन् र मुख्यत : छोराहरुको शिक्षा, सस्तो खर्च, इंग्ल्यान्डको मध्यभाग, ४५ मिनेटमा ठूलो ठूलो ४ वटा सहर, ग्रन्थममा पनि थुप्रै डेवलपमेन्ट हुँदै ठूलो रिटेल सपिङ खोलिँदै अनि अन्य विभिन्नमा मेरो साथीको आत्मियता, उसको सहयोग, अनि यो ठाउँकोबारेमा उबाट पाएको धेरै जानकारी ।
जय नेपालले विशेष पुलको काम गरेको थियो म र मेरो साथीको सम्बन्ध मा । प्राय: नेपालमा स्कुले जीवनबाटै एउटा न एउटा राजनीति विचार हुने अनि फलाना नेबि संघको हो, फलाना पाँचौको अनि उ छैटौं यस्तै यस्तै….।
हुन त, मेरो प्रिन्सिपल राजनीति सिद्धान्तभन्दा पनि साथीको व्यवहारअनुसार जोसँग पनि मिल्ने खालको थियो । म खासै नेतृत्व पनि नलिने अनि नारा जुलुसमा पनि खासै कम गए पनि सदस्यताचाहिँ नेबिसंघ । मेरो सबैभन्दा मिल्ने साथी महादेव पहारी जो अहिले पृथ्वीनारायणमा पढाउनुहुन्छ । उ चाहिँ नेकपाको सदस्य अनि चुनावताका चाहिँ हाम्रो निकै चर्कै बहस हुने गर्थ्यो अनि फेरि सँगसँगै हिँडिन्थ्यो । अहिले पनि म नेपाल जाँदा महादेवसँग भेटेर रातभरि कुरा नगरेसम्म मजा नै आउँदैन । साथी शिव तिमिल्सनाचाहिँ हुन त इंग्ल्यान्डमा एउटै कलेज लन्डन स्कुल अफ मनेमेन्ट भए पनि घनिष्टताचाहिँ जय नेपालले नै बढाएको हो । शिव त्यतिखेर यूके कांग्रेसको महामन्त्री बोल्न खप्पिस । मचाहिँ बोल्न डर लाग्ने । शिवको बसाइ लन्डन मेरो फार्नबोरो । कार्यक्रमहरुमा भेट भइरहने अनि विशेष शिवले लन्डनमा स्टेट एजेन्टको काम अनि म रियल स्टेट इन्वेस्टर झन् कुरा मिल्ने ।
अनायाश गत साल २०१९ को सेप्टेम्बरमा किशोर लामिछाने भाइले ग्रन्थममा छोराको स्कुलका लागि जाँदा कृष्ण दाइ, शिव दाइ पनि यहीं हुनुहुन्छ नि भन्दा त धेरै खुसी लाग्यो । त्यसपछि त शिवजीको घरमा आउँदै यमुना बहिनीको हातको मीठो मीठो खाँदै निकै घरहरु हेरियो अनि विशेष त शिवजीसँग ग्रान्थमको बारेमा धेरै कुरा बुझ्ने अवसर मिल्यो । शिवजीको स्टेट एजेन्टको अनुभव अनि आफै लगानी गरेको अनुभव अनि उहाँको एरियाको बारेमा जानकारी मेरा लागि धेरै नै फाइदाजनक भयो ।
पहिलोचोटि म आफैले घर नहेरी शिवजीको आदेशमा मजाले मिलाएर घर किनियो । मजाको अनुभव भयो । धन्यवाद साथी शिव तिमिल्सिना, बहिनी यमुना, किशोर भाइ, प्रकाशजी अनि ग्रन्थमको बारेमा सुरुमा भन्ने बासुजी । अनि लेकतिर जाने लेकाली दाइ हरिकाजी दाइ र भाउजुको प्रोत्साहन, हरि काजी दाइले लेकमा बस्दाको फाइदाको सेयर पनि लोभलाग्दो थियो ।
हुन त, विदेशमा बसेर के राजनीति गर्नु तर शिवजस्तो साथी भाइहरुसँगको भेट अनि धेरै कुराहरु सिक्न पाउँदा फेरि जय नेपाल, जुनसुकै पार्टीको राजनीति गरे पनि सेवामूलक होस् ।







