विग्रेड अफ गोर्खाजबाट अवकाश पाएका साहित्यकार तथा वातावरणविद् विजय हितान बेलायतमा चर्चित नाम हो । पौदी, गुल्मीमा जन्मेका हितानले श्री ५ इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयबाट २०३९ सालमा प्रवेशिका उत्तीर्ण गरेलगतै भर्ती भएका हुन् । ईको साहित्य र तेक्वान्दो खेलप्रति अत्यन्तै रुचि राख्ने वातावरणविद् हितानले बेलायतमा सन् २०१६ बाट हरेक वर्ष ‘वातावरण साहित्य गोष्ठी’ संयोजन गर्दै आइरहेका छन् । लेखनमा अब्वल शक्ति भएका हितानको ‘विछोडअघिको रात’ कवितासंग्रह २०६७ सालमा प्रकाशित पहिलो पुस्तक हो । उनले लाहुरे जीवनबाट सुरु गरेको संघर्षलाई अन्ततः परदेशी लाहुरेहरुको दस्तावेजको रुपमा प्रस्तुत गरेका छन् । वातावरणीय समस्या र लाहुरे जीवनीमा अधारित ‘थकित पृथ्वी’ कथासंग्रह २०७०, ‘जयबहादुर हितानमगर व्यक्तित्व कृतित्व’ आप्mनै बुबाको राजनीतिक यात्रा, सामाजिक कार्य, साहित्यिक कृतिहरुको ग्रन्थ सम्पादन २०७१ सालमा गरेका थिए । ‘इको उत्सर्जन’ पर्यावरण निबन्ध र ‘बागमती ब्लुज’ इको कवितासंग्रह २०७३ सालमा प्रकाशित भइसकेका छन् । हालै आएर नेपाल र बेलायतमा रहेका १ सय चार कविका इको कविताहरुको संगालो स्वच्छन्द सुसेलीहरु प्रकाशन गरेका छन् । पूर्वगोर्खा सैनिक बेलायत आएर ग्रिनवीच युनिभर्सिटी लन्डनबाट वातावरण विज्ञानमा स्नातकोत्तर गरेका हितानसँग एभरेष्ट टाइम्सका लागि रोशन मेवाहाङले गरेको कुराकानी ।

वातावरण साहित्यको महत्व के छ र यसलाई कसरी अघि बढाउन सकिन्छ ?
पृथ्वीको वातावारण दिनानुदिन खस्किँदै गएको छ । जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास, वन्यजन्तुको चोरीसिकारी, वनविनाश, अम्ल वर्षा, ओजन तहमा छिद्र, मरुभूमिकरण, समुद्रमा प्लास्टिक प्रदूषण, दूषित हावापानी इत्यादि यसका ज्वलन्त उदाहरण हुन् । पृथ्वीको वातावरण जोगाउन मानवीय अस्तित्वका लागि अतिआवश्यक छ । पर्यावरण संरक्षण कार्य धेरै तरिकाले भइरहेको छ । यसमा साहित्यले पनि ठूलो भूमिका खेल्छ भन्ने मलाई लागेको छ । जसरी साहित्य र लेखनले ठुल्ठूला सामाजिक र राजनीतिक परिवर्तनहरु ल्याएको छ त्यसरी नै यसले वातावरण संरक्षणमा पनि ठूलो भूमिका खेल्छ भन्ने मैले विश्वास लिएको छु ।
हामी मोती जयन्ती र भानु जयन्ती मात्रै मनाएर होइन माटो जयन्ती र भालु जयन्ती पनि मनाउन पर्छ किनकि यहाँ माटोको उर्बराशक्ति ह्रास भइसक्यो र वनभालुहरु मासिसके । कुनै कविले राजनैतिक सटारका कविताहरु मात्रै लेखेर हुँदैन पर्यावरण संरक्षणका कविताहरु लेख्न परु¥यो । कुनै गीतकारले मायापिरती र दुःखका गीतमात्रै लेखेर भएन अब वन्यजन्तु चरा–चुरुङीका गीत लेख्न प¥यो । कुनै कथाकारले बलात्कार, आत्महत्या, लैला मजनुको मात्रै होइन चोरीसिकारी, जैविक विविधता, प्राणी इत्यादिमा आधारित कथा लेख्न प¥यो । यसरी समग्रमा वातावरण साहित्य गोष्ठी र यसैसम्बन्धी चर्चा, परिचर्चा र अन्तरक्रिया गरिँदै लगियो भने नै अगाडि बढ्ने न हो ।
नेपालको सन्दर्भमा वातावरण साहित्य लेखनको अवस्था कस्ता छ होला ?
नेपालमा यसको अवस्था सुसुप्त नै छ । प्राकृतिक सुन्दरताको बारेमा त थुप्रै साहित्यिक लेखन भएकै हो । यसमा कुनै दुइमत छैन । तर त्यसलाई म वातावरण साहित्य मान्दिनँ ।
वातावरण साहित्यले यस धर्तीको वातावरणीय समस्याहरुलाई उजागर गर्दै त्यसको संरक्षणका उपायहरु दिनसक्नु परु¥यो । पश्चिमेली मुलुकमा भने यसको अवस्था अन्य साहित्यका विषयसरह नै अगाडि बढिसकेको छ भन्दा अत्युक्ति नहोला । १९६२ मा प्रकाशित रेचल कार्शन को साइलेन्ट स्प्रिङ्गु वातावरण साहित्यको सुत्रपातभन्दा हुन्छ ।
बेलायतमा पहिलोपल्ट ‘वातावरण साहित्यक गोष्ठी’ सम्पन्न हुँदा कस्तो अनुभव भयो ?
हामीले प्रथमपल्ट २०१६ मा आयोजना गरेका हौं । जसमा बेलायतमा स्थापित आठ साहित्यिक संगठनहरु सहकार्य थिए । मैले त संयोजनमात्रै गरिदिएको थिए । यसको सफलतामा त तिनै साहित्यिक सङ्गठनहरुको सहभागिता र सहकार्यको ठूलो हात छ । व्यक्तिगत साथीहरुले पनि धेरै मद्दत र सहयोग गर्नुभएको हो । यो गोष्ठी अन्यभन्दा पृथक् गर्नुपर्छ भनेर केही साथीहरुले सुझाव दिएपछि हाम्रो राष्ट्रिय पूmल लालीगुराँसलाई सभापति र लोपोन्मुख वन्यजन्तुहरुलाई प्रमुख अतिथि बनाएका थियौं । र प्रथम हुने कविलाई अन्त्यमा त्यही लालीगुराँसले सम्मान गरियो । यसरी कुन संस्था र व्यक्तिले के कस्तो मद्दत दिनुभयो भनेर नाम तोक्दा कतिको नाम छुट्ला, त्यसैले म यहाँ कसैको नाम किटेर लिन चाहिनँ । यसर्थ पहिलो गोष्ठीमै धेरैको सहभागिता र उत्साह देखेर यसलाई निरन्तरता दिने प्रण गरेको थिए ।
बन्दुक समाएका ती हातले कसरी वातावरण साहित्यको कलम समात्न पुग्नु भयो ?
बन्दुक होइन वा मलाई अब कलम समात्न सिकाउनुस् भन्ने शीर्षकमा त मैले एउटा कविता नै लेखेको छु । लेख्न पहिलेदेखि नै मन लाग्थ्यो । पल्टनघरमा पनि मासिक पत्रिका पर्वतेमा केही न केही लेखिरहन्थे । निवृत्त भएपछि वातावरण विज्ञानसम्बन्धी अध्ययन गरे । अरु विषयमा त अरुले नै लेखेका छन् । म किन पृथक् विषयमा नलेखांै भनेर वातावरण साहित्यमा मैले सबैभन्दा पहिला कविता कोर्न सुरु गरेको हुँ । यसो गर्न सुरु गरेको धेरै भा छैन । एक दशक भयो । समसामयिक पर्यावरणका समस्यामा म लेखहरु लेख्दै आएको छु । पर्यावरणकै धरातलमा टेकेर म कथा पनि लेख्छु । केही इको गीत, मुक्तक र गजलहरु पनि कोरेको छु । अरुले नै हिँडेको सरल बाटो किन पछ्याउनु भनेर यो अलिकति अफ्ठ्यारो तर रोचक बाटो रोजेको हुँ ।
लेखकहरुले धेरैजसो मानवीय जीवन वरिपरि केन्द्रित भएर लेख्छन्, प्रकृतिको इकोसिस्टमा असन्तुलन आएका कुराहरु तुलानात्मक हिसाबले कमी नै लेखिन्छ, हैन र ?
मानिसले मानिसकै बारेमा लेख्नु स्वाभाविक हो । आफ्नो कथा आफंैले त प्रायः लेखिन्छ, होइन र ? आफ्नो इतिहास आफंैले त लेखिन्छ, आफ्नो हक र अधिकार आफंैले संरक्षण गरेजस्तै । परायको बारेमा एक्लै दुक्लैले मात्रै कलम चलाएका हुन्छन् । तापनि त्यहाँ स्वार्थ लुकेको हुन्छ । आफूलाई केही फाइदा हुन्छ भनेर नै कसैको बारेमा लेख्ने हो । वातावरणको बारेमा साहित्यिक हिसाबले निकै कम व्यक्तिको मात्रै कलम चलेको पाइन्छ । अब त यस विषयमा कलम चलाउनै पर्ने अवस्था सिर्जना भएको छ किनकि यहाँ मानव अस्तित्व बचाइराख्न पर्ने सवाल छ ।
वातावरण साहित्य अँगाल्न पर्छ त भन्नुभयो तर यस धर्तीको वातावरणलाई सम्वद्र्धन, संरक्षण र प्रवद्र्धन वास्तवमा किन र कसरी गर्नु पर्छ भन्ने विषयलाई प्रस्ट पारिदिन सक्नु हुन्छ ?
उपभोक्तावादी जीवनशैली, जनसंख्या वृद्धि, प्राकृतिक स्रोत र साधनको दोहन, औद्योगिकरण, जैविक उर्जा खपत इत्यादि मानवीय कारणले हाम्रो वातावरण बिगँ्रदै गएको छ । अब यो पृथ्वी हामीले जस्ताको त्यस्तै हाम्रा सन्ततिलाई हस्तान्तरण गर्ने हो भने प्राकृतिक स्रोत र साधनलाई निक्कै जतनका साथ चलाउन पर्छ । वैकल्पिक उर्जाको विकास गर्न पर्छ । दीर्घकालीन आर्थिक विकास र औद्योगिकरणलाई अपनाउन पर्छ । मानिसहरुले सधैं सुविधा खोज्दछन् ।
जीवनलाई सुविधासम्पन्न बनाउन प्रकृतिलाई जानीजानी कोपर्न पुग्छन् । त्यसर्थ नीति नियमले बाँधेर राख्न सकेमात्रै यो सम्भव छ । जसरी सामाजिक हिंसाबाट सुरक्षित हुन समाजमा मानव अधिकारका नीतिनियम बनाएका छन् । त्यसरी नै पर्यावरण संरक्षण सम्वद्र्धन र प्रवद्र्धनका लागि वन्यजन्तु, वनस्पति, भूगोलका अधिकार नीतिनियमले तोकिदिएर लागू गरिन पर्छ । म त के भन्छु भने प्राणी र वनस्पतिको पनि बाँच्ने अधिकार सुनिश्चित गरिनु पर्छ । उदाहरणका लागि बाघको छाला चोरीसिकारीमा बन्देज गरिएको छ । यस्ता कार्य गर्नेलाई दण्ड सजायको व्यवस्था गरिएको छ । तर यसको कार्यान्वयन र पालना भनेजस्तो नहुँदा यी धेरै वन्यजन्तु र वनस्पति बिलिनको संघारमा पुगिरहेका छन् ।
साहित्यले वातावरणलाई कसरी जोगाउन सक्ला ?
मैले माथि नै भने यो एउटा साधन मात्रै हो । तर एक प्रभावकारी साधन हो भनेर सिद्घ भइसकेको छ । वातावरण के कति कारणले असुरक्षित बन्दै गएको छ भन्ने कुराको चेतना पहिला मानिसमा हुन आवश्यक छ । वायुमण्डलको तापक्रम कार्बनडाइअक्साइड ग्यास उत्सर्जन हुनुको कारणले र यसको उत्सर्जन डिजल र पेट्रोलको प्रयोगले भन्ने कुराको चेतना भए पो बल्ल मानिसले त्यसको प्रयोगमा कमी ल्याउलान् । यस्ता कुराको जानकारी जसरी मिडियाले दिन्छ त्यसरी नै साहित्यले दिन सक्छ ।
विश्व वातावरण दिवसलाई पारेर तपाईंले साहित्य गोष्ठीको आयोजना गर्दै आउनुभएको छ । यो दिवस कहिले पर्दछ र के कस्ता कार्यक्रम गरेर यसलाई मनाइन्छ ?
वातावरण दिवस प्रत्येक वर्षको जुन ५ मा पर्दछ । संयुक्त राष्ट्रसंघले १९७२ देखि संयोजन गर्दै आएको हो । यसवर्ष भारत आयोजक राष्ट्र हो । प्रत्येक वर्ष एउटा नारा हुन्छ । यसवर्षको नारा ‘सड्दै नसड्ने, प्लास्टिक प्रदूषणसँग, अब हामी लड्ने’ रहेको छ । रुखहरु रोपेर सहरबजार, खोलानाला, सामुन्द्रिक तट, पार्क इत्यादि सरसफाई वातावरण साहित्य महोत्सव पर्यावरणको अवस्था र महत्वबारेमा अन्तरक्रिया, चित्रकला प्रदर्शन, इत्यादि क्रियाकलाप गरेर यो दिवसलाई मनाइन्छ ।
यो वर्षको साहित्यिक कार्यक्रम कहिले र कुन ठाउँमा हुँदैछ ?
जुन ३ आइतबार चाल्र्टन, लन्डनमा यो गोष्ठी गरिँदै छ । यो तेस्रो वातावरण साहित्य गोष्ठी हो । बेलायतका लागि नेपाली राजदूत तथा वरिष्ठ साहित्यकार दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि र नेपालबाट आउनुहुने वरिष्ठ गीतकार भावेश भुमरी विशेष अथिति रहनु हुनेछ । बेलायतमा रहेका १३ साहित्यिक संस्थाहरुको सहकार्यमा यसको आयोजना गरिँदै छ । विशेष गरेर नेपाल र बेलायतका १०४ कविहरुको इको कविताहरुको संग्रह ‘स्वछन्द सुसेलीहरु’ विमोचन गरिने छ ।
अन्त्यमा, भविष्यमा यसको चुनौती र अवसरको बारेमा बताइदिनुस न ?
यति बृहत् कार्यक्रम गर्न त्यत्ति सजिलो छैन । धेरैको साथ र सहयोगको आवश्यकता पर्दछ । यसले गति लिइसकेको छ । यसलाई निरन्तरता दिन इच्छाशक्ति र संयोजन कार्यको जरुरत पर्दछ । वातावरण साहित्य के हो र किन गर्न पर्छ भन्ने कुरा अब धेरै साहित्यकारले बुझेर बोल्न र लेख्न सुरुआत गरिसकेका छन् र यसले पर्यावरण संरक्षणमा सकारात्मक भूमिका खेलिसकेको मैले अनुभव गरेको छु । म भविष्यका लागि धेरै आशावादी छु ।






