काठमाडौं १६ भदौ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले विपक्षी नेता हुवाँ ग्वाइदोका सहयोगीसहित १०० सांसदलाई ‘राष्ट्रिय मेलमिलाप प्रवर्द्धनका लागि’ माफी दिएको घोषणा गर्नुभएको सरकारले मङ्गलबार जानकारी गराएको छ ।
माफीको लागि सञ्चारमन्त्री जर्ज रोड्रिगेजले सरकारी टेलिभिजनमा प्रत्यक्ष प्रसारणमा नाम पढिएकामध्ये ग्वाइदोका सहायक रोबर्टो मरेरो, सांसद गिल्बर कारो र रेन्जो प्रितोलगायत नेता तथा सांसद रहेका छन् । राष्ट्रपतीय आदेशसँगै घोषणा कार्यान्वयनमा गएकोे छ तर राष्ट्रपतिको विरुद्धमा लागेको अभियोगमा जेल परेका व्यक्तिलाई जेलमुक्त गर्न अदालतद्वारा तुरुन्त प्रक्रिया अघि बढाउनुपर्नेछ ।
मरेरो सन् २०१९ को मार्चमा पक्राउ परेका थिए । उनी तथा पक्राउ पर्ने अन्य नेता तथा सांसदहरूलाई मदुरो सरकारलाई अस्थिर बनाउन ‘आतंकवादी समूह’ को हमला गर्ने योजनाको हिस्सा भएको आरोप लगाइएको थियो ।
माफी दिइएका व्यक्तिहरूमध्ये विपक्षी नेता ग्वाइदो भने छैनन् । तर उनका धेरै मुद्दाहरूलाई केही खुकुलो गरिएको छ ।


