हुम तमु
पोखरा, २४ भदौ । चारभञ्ज्याङ तमु समाज पोखरालाई यूके भ्रमण गरी नेपाल फर्किएका लामा हित गुरुङले सहयोग गरेका छन् । पोखरा ९ नयाँबजार सिद्धमार्गस्थित चारभञ्ज्याङ तमु समाज घरमा युके भ्रमण गरी नेपाल फर्किएका चारभञ्ज्याङका भाञ्जा, पुरानो गाउँ स्याङ्जा सिरुबारी भई हाल पोखरा ८ बगालेटोलस्थि त्रिरत्न गुम्बाका प्रमुख लामालाई स्वागतका क्रममा लामा हित गुरुङले ५० हजार १० रुपैयाँ समाजलाई सहयोग गरेका हुन् ।
करिब साढे ५ महिना युके भ्रमण पश्चात केही समय अघि पोखरा फर्किएका लामाले चारभञ्ज्याङ तमु समाजका अध्यक्ष प्रदिप गुरुङ, आमा समिति अध्यक्ष डम्बरकुमारी तमु र समाजका कोषाध्यक्ष क्या.ठाकुरप्रसाद गुरुङलाई रकम हस्तान्तरण गर्दै आफ्नो तीन पुस्तादेखि पुस्तौली सम्बन्ध रहेको चारभञ्ज्याङ तमु समाजलाई शुभलाभसहित सहयोग गर्न अवसर पाउनु शौभाग्यशाली ठानेको बताए । कोभिड १९ को महामारी बिच युके बसाईमा पनि आफ्नो गाँउलेहरु, आफन्तजन, इष्टमित्र र चारभञ्ज्याङबासीको ठुलो माया प्राप्त गरेको उनले बताए ।
लामा हित गुरुङलाई चारभञ्ज्याङ तमु समाजमा अध्यक्ष प्रदिपकुमार गुरुङ, संस्थापक अध्यक्ष तथा समाजका प्रमुख सल्लाहकार पुरनधोज गुरुङ, आमा समिति अध्यक्ष डम्बरकुमारी तमुले खादा, भाङ्ग्रा र बुकेद्धारा स्वागत सम्मान गरिएको थियो ।
यसैगरी तमुधिं नेपाल केन्द्रिय आमा समितिको हालै सम्पन्न सातौ बार्षिक साधारण सभा तथा दोश्रो महाधिवेशनबाट केन्द्रीय आमा समितिको सदस्यमा निर्वाचित चारभञ्ज्याङ आमा समितिकी कोषाध्यक्ष बेलकुमारी गुरुङलाई अध्यक्ष प्रदिपकुमार गुरुङले खादा लगाएर बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरेका थिए ।
यसैबीच चारभञ्ज्याङ तमु समाज पोखराको भदौ २७ गते गरिने भनिएको वार्षिक साधारण सभा तथा अधिवेशन हाललाई स्थगित गरिएको छ । उक्त दिन समाजका विशेष सहयोगी, तमुधिं युकेको निवर्तमान अध्यक्ष ज्ञाम गुरुङका बाबा पोखरा ९ नयाँबजार निवासी क्षेसराज गुरुङको पितृकार्य भएकाले साधारणसभा तथा अधिवेशन स्थगित गरी केही समयपछि मिति तोक्ने निर्णय भएको समाजका सहसचिव बिना गुरुङले जानकारी दिए ।
समाजको आगामी कार्यसमिति चयनका लागि संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार पुरनधोज गुरुङको अध्यक्षतामा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको सहसचिव गुरुङले जानकारी दिए । उनका अनुसार निर्वाचन समितिको सदस्यहरुमा सल्लाहकार एवम निवर्तमान अध्यक्ष सुमे नारायणसिंह गुरुङ, सल्लाहकार एवम आइसिसि अध्यक्ष क्या.चन्द्रबहादुर गुरुङ, सल्लाहकार एवम तमु धिं नेपालका उपाध्यक्ष हुमबहादुर गुरुङ, सँस्कृतिकर्मी कृष्णकुमार गुरुङ रहेका छन् ।






