
अस्ट्रेलिया ३० भदौ । गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष अस्ट्रेलियाका सफल व्यवसायी शेष घले र जमुना गुरुङले अस्ट्रेलियाको मेलवर्नमा निर्माण हुन लागेको नेपाली सामुदायिक भवन निर्माणका लागि २ लाख ८ सय ८८ डलर दिने घोषणा गरेका छन् ।
सामुदायिक भवन निर्माण गर्न आर्थिक सहयोग जुटाउने उद्देश्यले मेलवर्नमा आयोजना गरिएको महापुराण कार्यक्रम उद्घाटनदेखि समापनसम्ममा तीन दिनसम्म गएर महापुराणस्थलमा पुराण श्रवणमा समय दिँदै समापनका दिन आइतबार उनीहरुले उक्त रकम दान दिने घोषणा गरेका हुन् । नेपाली सामुदायिक भवन निर्माणका लागि यति ठूलो रकम दान दिइएको नेपाली डायस्पोरामा सम्भवतः यो पहिलोपटक हो ।
सहयोग रकम घोषणा गर्दै घलेले भने,‘अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली संस्कृति एवं पहिचानलाई स्थापित गर्न यो सामुदायिक भवनले निकै ठूलो महत्व राख्ने मैले विश्वास लिएको छु । यसले अस्ट्रेलियामा नेपाली समाजको एकता र समृद्धिलाई समेत झल्काउने छ ।’ सामुदायिक सम्पत्ति सिर्जना गर्ने काममा हरेक ब्यक्तिको सक्रियता र अपनत्व हुनुपर्छ भन्नेमा आफूले सधै विश्वास राख्ने गरेको भन्दै घलेले गैरआवासीय नेपाली संघको नेतृत्व गर्दा पनि सोही मान्यतालाई स्थापित गरेको बताए ।
झण्डै साढे दुई दशकदेखि मेलवर्नमा व्यववसाय गरिरहेका घले दम्पतीले सफल उद्यमी एवं परोपकारी ब्यक्तित्वको रुपमा आफूलाई स्थापित गरेका छन् । उनीहरुको पहलमा नेपालको स्वास्थ्य एवं शिक्षा क्षेत्रमा काम गर्नेगरी एक अर्ब रुपैयाँको एमआईटी फाउन्डेशनसमेत स्थापना भएको छ ।
घले दम्पतीको सहयोगको घोषणापश्चात् परियोजना निर्माण प्रक्रिया तीव्र गतिमा अगाडि बढ्ने विश्वास लिइएको छ । पशुपतिनाथ र स्वयम्भुनाथको मन्दिरसमेत अटाउने गरी बनाउन लागिएको नेपाली सामुदायिक भवन निर्माणका लागि मेलवर्नमा रहेका नेपाली समुदायले सक्रियतापूर्वक सहयोग प्रदान गरेका छन् ।
आयोजकले समापनका दिनसम्म महापुराणबाट झन्डै १.१ मिलियन डलरको प्रतिबद्धता जाहेर भएको छ र महापुराणभन्दा पहिलाको समेत गरी जम्मा रकम १.४ मिलियन डलर पुगेको जानकारी कार्यक्रमको समाप्तिका अविसरमा दिइएको थियो ।






