काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्खयमन्त्री उपेन्द्र यादव, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आज पद तथा गोपनीयताको शपथ लिएका छन् यसअघि उपप्रधानमन्त्री पोखरेल रक्षामन्त्री मात्रै थिए भने मन्त्री बाँस्कोटा सञ्चार तथा सूचना राज्यमन्त्री थिए । यादव र पोखरेल यसअघि पनि उपप्रधानमन्त्री रहिसकेका छन् ।

शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराइन् । समारोहमा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायतको उपस्थिति थियो ।
नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले भण्डारीले शुक्रबार नै यादव र राईलाई मन्त्रीमा नियुक्त तथा बास्कोटालाई राज्यमन्त्रीबाट बढुवा गरेका हुन् । नवनियुक्त उपप्रधानमन्त्री यादव र राई संघीय समाजवादी फोरम नेपालसँग तथा बाँस्कोटा नेकपासँग आबद्ध छन् । यसअघि शहरी विकास मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हालेका थिए ।
गुणस्तरीय स्वास्थ्य सेवा जनताको पहुँचमाः उपप्रधानमन्त्री यादव
नवनियुक्त उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य सेवा सबै जनाताको पहुँचमा पुर्याइने बताएका छन् । स्वास्थ्य मन्त्रालयमा पदबहालीका क्रममा उपप्रधानमन्त्री यादवले अहिलेको आवश्यकता र परिवर्तित राजनीतिक सन्दर्भमा मुलुकको आर्थिक समृद्धिसँगै स्वास्थ्य सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाइनुपर्नेमा जोड दिए । उनले स्वास्थ्य क्षेत्रमा नतिजामुखी परिणाम हासिल गर्न सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।
शहरी विकासमन्त्री राईद्वारा पदभार ग्रहण
शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आज पदभार ग्रहण गरेका छन् । बाँके क्षेत्र नं २ बाट निर्वाचित मन्त्री राई यसअघि संघीय समाजवादी फोरम नेपालका सचिव थिए ।






