काठमाडौं असोज १८ । नेपाल तामाङ घेदुङ इजरायलले छात्रवृति वापत उपलब्ध गराएको रकम आइतबार हस्तान्तरण गरिएको छ । उक्त रकम घेदुङका महासचिव बाबु घिसिङ र कोषाध्यक्ष रुपबहादुर योन्जनले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । यसरी छात्रवृति पाउनेमा जिल्ला काभ्रे बेथानचौक गाउँपालिका वडा नं. ५ च्याल्तीका कक्षा ७ मा अध्ययनरत विधान रुम्बा हुन् । साइनिङ स्टुडेन्ट एकेडेमी भक्तपुरमा अध्ययनरत विद्यार्थी रुम्बाको बाबु मनोजकुमार रुम्बाको दुवै किड्नी फेल भई आर्थिक अभावको कारण बच्चाको पढाईलेखाइमा समस्या आएको थियो ।
मेधावी छात्र रुम्बाको पढाइँ अवरुद्ध हुने देखेपछि विद्यालय शुल्क तिर्न र कापी, कलम लगायतको सामाग्री खरिद गर्न पहिलो किस्ता वापत रु. ६५००/– उपलब्ध गराएको इजरायल घेदुङका अध्यक्ष अनिला मोक्तान तामाङले बताए । उनका अनुसार अब त्रैमासिक रुपमा ६५००/– को दरले एक बर्षको लागि रु. २५,०००/– छात्रवृति पाउने छन् ।
यसैगरी अरु ३ जना तामाङ विद्यार्थीहरुलाई समेत इजरायल घेदुङले छात्रवृति उपलब्ध गराउने जनाएको छ । छात्रवृति रकम हस्तान्तरण गर्दै महासचिव बाबु घिसिङले रुम्बाको अध्ययन सफलताको शुभकामना दिनुहुँदै सहयोगी संस्था नेपाल तामाङ घेदुङ इजरायललाई धन्यवाद दिएका छन् ।
नेपाल तामाङ घेदु इजरायलले यस अघि नै रु. १२,५६,७५०/– भन्दा बढी रकमको शैक्षिक सहयोग अक्षय कोष नेपाल तामाङ घेदुङद्वारा सञ्चालित घेदुङ बहुउद्देश्यीय सहकारी संस्थामा स्थापना समेत गरिसकेको छ ।


