काठमाडौं कात्तिक १६ । नेपालभरमा आइतबार कोभिड–१९ का दुई हजार ८२४ सङ्क्रमित थपिँदा ३ हजार ६२० सङ्क्रमणमुक्त भएका छन् । थपिएका सङ्क्रमितमध्ये पुरुष एक हजार ७७८ र महिला एक हजार ४६ छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले आइतबार काठमाडौँ उपत्यकामध्ये काठमाडौँमा एक हजार ११३, ललितपुरमा १९५ र भक्तपुरमा ४९ नयाँ सङ्क्रमित थपिएका छन् । सङ्क्रमणमुक्त भएका तीन हजार ६२० समेत गरी आजसम्म एक लाख ३४ हजार ८४२ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आजसम्म निको हुने दर ७७ दशमलव ७ प्रतिशत छ । आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार ७६५ पुगेको मन्त्रालयले जनाएको छ । यो जम्मा सङ्क्रमितमध्ये २१ दशमलव ८ हो ।
देशभरमा हालसम्म सङ्क्रमितको सङ्ख्या एक लाख ७३ हजार ५६७ पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये हाल ३१ हजार ३९४ होम आइसोलेशनमा छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १३ हजार हजार २३ नमूना परीक्षण भएको थियो । हालसम्म १४ लाख ५६ हजार ३६६ नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ४९ हजार ९०८ परीक्षण भएको बताइएको छ । हालसम्म पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर ११ दशमलव ९ प्रतिशत छ । क्वारेन्टिनमा रहेकाको सङ्ख्या दुई हजार ३८६ छ ।
थप २३ को मृत्यु
पछिल्लो २४ घण्टामा कोभिडका कारण थप २३ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९६० पुगेको छ ।
सङ्क्रमणका कारण मृत्यु हुने शून्य दशमलव ५ प्रतिशत हो ।






