
लन्डन पुस ७ । बौद्ध धर्मगुरु क्याबजे झोङसार खेन्चे रिन्पोछेका श्रद्धालु भक्तजनहरुले बृहत पूजाको आयोजना गरी उनको ६१ औं जन्मदिवस मनाएका छन् । यसै वर्षदेखि नयाँ ल्हो अर्थात् ६१ वर्षमा प्रवेश गर्ने क्रममा विश्वभर छरिएर रहेका उनका भक्तजन तथा शुभचिन्तकहरुले उनको सुस्वास्थ्य, दीर्घायू साथै धार्मिक लिला विश्वभर फैलियोस् भन्ने उद्देश्यका साथ सिद्विको श्रोत (भिमालाडुब) साधना विधिद्वारा एक लाख गणचक्रको पूजा (भुमछोक) आयोजना गरी जन्मोत्सव मनाएका हुन् ।
वर्तमान परिस्थितिलाई मध्यनजर राख्दै अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको गुम्बामा उक्त पूजा गरिएको हो । गत १९ डिसेम्बरदेखि २१ डिसेम्बरसम्म आयोजना गरिएको पूजामा विश्वभर रहेका उनका सयौं शुभचिन्तकहरु जुम प्रविधिमार्फत भर्चुअली जुटेका थिए । बीसीसी यूकेका सल्लाहकार मेजर खुशीमान गुरुङको संयोजनमा सम्पन्न भएको उक्त पूजामा बीसीसी यूकेका धर्मगुरुहरु रिन्पोछे लुङ्गरिक र खेन्पो ञ्यीमाले उनको सुस्वास्थ्यका लागि बौद्ध धर्मअनुसार विभिन्न पूजापाठहरु गरेका थिए । पूजालाई बीसीसी यूकेको फेसबुक पेजबाट लाईभ गरिएको थियो ।
विशेषगरी फ्रान्स, ईटली, स्पेन, जर्मन, होल्याण्ड, पोल्याण्ड, ग्रीस, रसिया, सिंगापुर, बेलायतलगायत विभिन्न देशमा रहेका उनका शुभचिन्तक तथा भक्तजनहरुले पनि आ–आफ्नो स्थानबाट पूजापाठ गरेका थिए ।
भुटानमा जन्मिएका खेन्चे रिन्पोछेले ७ वर्षको उमेरदेखि सिक्किमको तत्कालीन राजदरबारमा बसेर अध्ययन गरेका थिए भने पछि राजपुरस्थित शाक्य कलेज र युनिभर्सिटी अफ लन्डनमा समेत अध्ययन गरे । भारतको हिमाचल प्रदेशको वीर, इष्ट तिब्बत र इष्ट भुटानमा उनको बौद्ध अध्ययन केन्द्र स्थापना गरेका छन् । जहाँ थुप्रै विद्यार्थीहरु अध्ययनरत छन् । साथै, कुशल चलचित्र लेखन तथा निर्देशकसमेत रहेका उनले आउँदो २६ र २७ डिसेम्बरका दिन ताईवानमा रिन्पोछेले विपसना मेडिटेशन गराउँदै छन् भने सो विपसनाको बीसीसी यूकेका खेन्पो ञ्यीमा गुरुले अनुवाद गर्ने जनाइएको छ ।
पूजा सम्पन्न गर्नका लागि बीसीसी यूकेका अध्यक्ष नरेश गुरुङ, रिन्पोछे लुङ्गरिक, सेराब, खेन्पो ञ्ङिमा, आदी, सल्लाहकार मेजर खुशीमान गुरुङ, मेजर हितमान गुरुङ, बीसीसी यूके आमा समूह अध्यक्ष पुष्पा गुरुङ, बीसीसी यूके लन्डन ब्रान्च आमा समूह अध्यक्ष अन्तिम गुरुङ, बीसीसी यूकेका पूजा संयोजक आईबहादुर गुरुङ, साना लामा, रामचन्द्र गुरुङ लगायत बीसीसी यूकेका सिंगो कार्यसमिति, आमा समूह, भक्तजन तथा शुभचिन्तकहरुले आ–आफ्नो स्थानबाट विशेष भूमिका खेलेका थिए ।
त्यस्तै, बीसीसी यूकेले तमू (गुरुङ) ल्होछारको पावन अवसरसमेत विशेष पूजाको आयोजना गर्ने जनाइएको छ । उक्त पूजासमेत भर्चुअली गरिने र सो पूजाको पनि फेसबुक लाईभ गरिने बीसीसी यूकेले जनाएको छ ।







