तमु धिं नेपालले ल्वों ल्होछार मनायो, १४ जना सम्मानित

SHARE:

पहिचानको नाममा संकुचित नबनौं : मन्त्री गुरुङ
पोखरा १४ पुस । तमु जातिको महान चाड, नयाँ वर्ष तमु ल्होछार २०७७ तमु धिं नेपालले सोमबार शुभकामना आदानप्रदान, सम्मान, पुरस्कार, छात्रवृत्ति वितरण, साँस्कृतिक कार्यक्रम र चियापान कार्यक्रम गरी मनाएको छ ।

च्यु ल्हो (मुसा वर्ग)को बिदाई र ल्वों ल्हो(गाई वर्ग) स्वागतार्थ पोखरा ९ नयाँबजारस्थित तमु धिंमा आयोजित कार्यक्रमको ल्होछार कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले ल्होकोर अनावरण गर्दै उद्घाटन गरेका थिए ।

कोभिड १९ कोरोना भाईरसको संक्रमणको अवस्था रहेकाले स्वास्थ्य सुरक्षालाई ख्याल राख्दै आयोजित कार्यक्रममा डा.हर्क–चन्द्र–सन्त स्मृति उच्च शिक्षा पुरस्कार अधिवक्ता जुनाकुमारी तमु(एलएलएम)लाई पुरस्कृत, सन्तबहादुर तमु समाज सेवा सम्मान स्मृति पुरस्कारबाट समाजसेवी नागबेली तमु समाजकी हिरादेवी तमु, तमु धिं नेपाल आदिवासी हर्कबहादुर तमु स्मृति पुरस्कारबाट वरिष्ठ लोकगायक अमर बिरही तमु, समाजसेवी पौरखी नेपालका निवर्तमान अध्यक्ष मञ्जु गुरुङ पुरस्कृत र समाजसेवा सम्मानबाट एनआरएन हङकङका अध्यक्ष राधिका(टिका) तमु, भाषा, कला साहित्य सम्मानबाट गितकार, संगीतकार, लेखक एकेन्द्र तमु (यूके)लाई सम्मान गरिएको थियो ।

यसरी नै कर्णेल तिर्थ कुमारी समाज सेवा सम्मान स्मृति पुरस्कारबाट शान्ति रुपा बराहथोक तमु समाजका अध्यक्ष सुवेदार तुलबहादुर तमु र धनबहादुर लामिछाने स्मृति पुरस्कारबाट लामो समय देखि तमु भाषामा योगदान दिनुभएका रत्नबहादुर गुरुङ(स्याङजा सिरुबारी हाल काठमाडौं)लाई सम्मान गरिएको थियो।

यस्तै गरी सुनिल गुरुङ स्मृति छात्रवृत्ति महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत सुस्मिता तमु, माउण्ट अन्नपुर्णमा अध्ययनरत गरिब तथा जेहेन्दार एलिना तमु र तनहु सतिस्वाँराका अभिषेक तमुलाई र आकृति गुरुङ स्मृति छात्रवृत्ति खिलाङ तमु समाजका प्रकाश तमु, ताङतिङका प्रबिण तमु र तनहुँ भोटेनीकी अश्मी तमुलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

सम्मानित पुरस्कृतहरुलाई प्रमुख अतिथि मन्त्री किरण गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, निवर्तमान अध्यक्ष कर्म तमु र सम्मान,पुरस्कार, छात्रवृतिका अध्यक्षकोष दाता एवम परिवारजनहरु स्व.आदिवासी हर्कबहादुरका छोरा अर्जुन गुरुङ, स्व.सुनिल गुरुङको बुबा अक्षकोषदाता विष्णुकुमार गुरुङ, स्व.आकृति गुरुङको आमा, स्व.सन्तबहादुर गुरुङको छोरा गौरब गुरुङले बिधागत पुरस्कृत सम्मानित गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गुरुङहरु लगायत आदिवासी जनजातिले पहिचानका नाममा आफ्ना मौलिकता लत्याउदै जान नहुने बताए। गण्डकी हाम्रै पहिचानसँग जोडिएको छ भन्दै उनले गुरुङको पहिचान छाडेर तमु हुदै थरहरुमा पुग्दा धेरै संकुचित भएको प्रष्ट पारे।उनले थपे हाम्रोे सँस्कृति घाँटु, सोरठी अरुले नाचे, भाङ्ग्रा अरुले लगाए भनेर अरुकै हो भन्न हुदैन। भाषा, कला, साहित्य, सँस्कृति, परम्परागत मुल्यमान्यता लगायतका मौलिकता संरक्षण जरुरी छ भन्दै गुरुङको ईतिहाससँग जोडिएको पुरानो लिपी खोजी आवाश्यक रहेको बताए ।

फरक प्रसंगमा नेकपाका स्थायी समिति सदस्य समेत रहेका मन्त्री गुरुङले प्रधानमन्त्री केपी ओलीले संवैधानिक कु नभई जनताबाट विश्वास प्राप्त गर्न मध्यावधि घोषणा गरेको बताए। प्रमलाई काम गर्न नदिए पछि संसद नभई जनता सामु जान चाहेको हो भन्दै ओलीको बचाउ गरे।

यसैबीच तमु धिं नेपालले प्रस्तुत गरेको योजनामा प्रदेश सरकारले सहयोग गर्ने प्रमुख अतिथि आर्थिक मन्त्री गुरुङले प्रतिवद्धता जनाएका थिए।
कार्यक्रममा विशेष अतिथि तमु धिं नेपालकी निवर्तमा अध्यक्ष कर्म तमुले शुभकामना व्यक्त गर्दै विषय प्रसंग, समय परिस्थितीमा बहिष्कारसम्मको अवस्थामा पुगेको अवस्था परिवारभित्रै सहज बनाएको बताउदै हामी परिवार, समुदायभित्र एक भएको दावी गरिन।

नेपाल तामाङ घेदुङ केन्द्रिय सचिवालय सदस्य दिपक तामाङले ल्होछारको शुभकामना व्यक्त गर्दै सामुदायिक, साँस्कृतिक अधिकार, आदिवासी जनजातिका पहिचान, अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सम्पुर्ण पहिचानवादीहरु एक हुन आव्हान समेत गरे।

कार्यक्रममा तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति अक्षयकोषबाट पुरस्कृत समाजसेवी पौरखी नेपालका निवर्तमान अध्यक्ष मञ्जु गुरुङले शुभकामना व्यक्त गर्दै आफु तमुहरुको आदिकवि स्व.आदिकवि हर्कबहादुर गुरुङको स्मृतिमा सम्मानित हुन पाउदा समाजसेवामा थप समर्पित हुने प्रोत्साहन मिलेको बताइन। आदिवासी स्व.हर्कबहादुर गुरुङ र आफ्ना बाबा स्व.घनबहादुर लामिछाने साथी भएको बताउदै उनले बाबा स्व.घनबहादुर लामिछानेको पहिलो कृति तमु शब्दकोष तमु धिंले प्रकाशन गरेको र अब पुनः प्रकाशन गरी अक्षयकोष थप गर्न चाहना रहेको बताइन्।

तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति अक्षयकोषबाट पुरस्कृत वरिष्ठ लोकगायक अमर बिरही गुरुङले ४० वर्षको लोकगायनको इतिहासमा आदिकवि हर्कबहादुर गुरुङ स्मृतिमा तमु धिंबाट सबैभन्दा गर्बिलो सम्मान पाएको भन्दै खुशी व्यक्त गरे। यसै बिच आदिकवि हर्कबहादुर गुरुङ स्मृति अक्षयकोषका प्रमुख संरक्षक, वरिष्ठ समाजसेवी योगेश गुरुङको शुभकामना एवम बधाई सन्देश कार्यक्रममा प्रस्तुत गरिएको थियो।

कार्यक्रममा सम्मानित वरिष्ठ लोकगायक अमरबिरही गुरुङ, गायक डबिन गुरुङ र उषा गुरुङ गीत प्रस्तुत गरेका थिए भने हिमाली साँस्कृतिक परिवारका कलाकारहरु, तमु धिं नेपाल केन्द्रिय आमा समितिका कलाकारहरु बालकुमारी गुरुङ, बिष्णु गुरुङ र टिका गुरुङ, चारभञ्ज्याङ तमु समाजकी स्मृति गुरुङ र मालिमा गुरुङको नृत्य प्रस्तुति गर्दै मनोरञ्जन दिलाएका दिए।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सुरक्षा विभाग र साँस्कृतिक विभागका सदस्यहरुलाई खादा लगाएर सम्मान गरिएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य तमु धिंका वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ र सञ्चालन महासचिव जुनाकुमारी गुरुङले गरेकी थिइन् ।

यस अघि तमु धिं नेपालले ल्होछार आगमनको अवसरमा पुस १२ गते जुम भर्चुयल ल्होछार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, पुर्व मन्त्री इन्द्रबहादुर गुरुङ लगायत यूके, अमेरिका, हङकङ, बेल्जियम, कतार, साउदी अरब, मलेशिया लगायत धेरै देशबाट र नेपालका विभिन्न क्षेत्रबाट तमु अग्रज, पत्रकार, सामाजिक व्यक्तित्वहरु सहभागी भएका थिए।

यसरी नै ल्होछार कार्यक्रम अन्र्तगत पुस १४ गते बेलुका तमु ह्युला चोकमा ल्वों ल्हो(गाई वर्ग)लाई स्वागतका लागि दीप प्रज्वलन, बेलुका घर घरमा दिपावली, पुस १५ गते समाजहरु, क्होइबो, गुम्बा, घरपरिवारमा सुरक्षित तरीकाले ल्होछार मनाउन तमु धिले आग्रह गरेको छ।

यसरी नै विगत करिब एक दशकदेखि पुस १६ गते कस्केली तमु संघ संस्थाहरुले सामुहिक रुपमा मनाउदै आएको ल्होछार/ल्होसारलाई निरन्तरता दिने र तमु धिं नेपालको प्राङ्गणमा तमु ल्होछार मनाउने भएको छ। उक्त दिन तमुहरुको परम्परा खेल खुल्ला छेलो प्रतियोगिताले समेत निरन्तरता दिने भएको छ।सामुहिक ल्होछार/ल्होसार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा हुने सामुहिक ल्होछार/ल्होसार मुल आयोजक समितिका संयोजक तमु कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र तमुले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!