काठमाडौं । आसन्न १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत चार विधाको मनोनयन सार्वजनिक गरिएको छ ।
मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले एक कार्यक्रमको आयोजना गर्दै चार विधामा मनोनित खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरेको हो । मञ्चले वर्षका पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो । वर्षका पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्देकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका छन् ।
वर्षका महिला खेलाडीतर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका छन् ।
वर्षका युवा खेलाडीतर्फ भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ मनोनयन हुँदा वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका छन् ।
मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा गठित ११ सदस्यीय छनोट समितिले खेलाडी तथा प्रशिक्षकको छनोट गरेको हो ।
२०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडीलाई मनोनित गरिएको छनोट समितिका संयोजक रेग्मीले बताउनु भयो । आयोजक मञ्चले पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिसकेको छ ।
पिपल्स च्वाइस विधामा मनोनित पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीको भोटिङ लाइन जारी रहेको छ ।
इ–सेवामार्फत भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा पिपल्स च्वाइस विधाको विजेता छनोट हुनेछ ।
पल्सर स्पोर्ट्स अवार्डमा अन्य विधा पारा एथलिट, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकारलाई समेत सम्मान गरिने बताईएको छ । यस वर्षदेखि पारा एथलिट अवार्डलाई ‘पारा एथलिट सम्मान’को रूपमा प्रदान गरिने आयोजकले जनाएको छ ।
वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी, डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । अवार्ड कार्यक्रम पुस २८ गते ललितपुरको सातदोबाटोस्थित कराते हलमा सेमीभर्चुअल रूपमा गरिने आयोजक मञ्चले जनाएको छ ।
पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि रहेको छ । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य (पावर्ड बाइ) मा हुने अवार्डको अन्य प्रायोजकमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, इ–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंगी होटल, इमेजिङ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटी रहेका छन् ।
१७ औं पल्सर स्पोर्ट्स अवार्ड २०७६ अन्तर्गत चार विधाको मनोनयन सार्वजनिक
वर्षका पुरुष खेलाडी
विकेश कुथु (फुटबल)
– १३औं सागमा फुटबलको टिम स्वर्ण
– आठौं राष्ट्रियमा आर्मी क्लबबाट स्वर्ण
– ए डिभिजन लिगमा दोस्रो
– विशाल गोल्डकप च्याम्पियन
गोपीचन्द्र पार्की (एथलेटिक्स)
– १३औं सागमा ५ हजार मिटर दौडमा स्वर्ण पदक
– आठौं राष्ट्रिय खेलकुदमा ५ हजार मिटर दौडमा स्वर्ण, १० किमि दौडमा कांस्य
– गणेशमान सिंह ओपन रोड रेसमा प्रथम
– चितवन नेसनल १५ किमि ओपन रोड रेसमा प्रथम
कमल श्रेष्ठ (तेक्वान्दो)
पुम्से एकल (२४–२९ वर्ष)
– १३औं सागमा स्वर्ण
– आठौं बृहत राष्ट्रिय खेलकुदमा तीन स्वर्ण
– नवौं कोरियन एम्बेसडर खुला राष्ट्रिय तेक्वान्दोमा दुई स्वर्ण
मन्देकाजी श्रेष्ठ (कराते)
– १३औं सागमा दुई स्वर्ण पदक (टिम काता र एकल)
– आठौं राष्ट्रिय खेलकुद, स्वर्ण पदक (एकल काता) र रजत (टिम काता)
– बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा कांस्य पदक (एकल काता) र स्वर्ण पदक (टिम काता)
सुवास तामाङ (गल्फ)
– १३ औं दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण (व्यक्तिगत र समूह)
– पहिलो पटक नेपाललाई ऐतिहासिक स्वर्ण ।
– आठौं राष्ट्रिय खेलकुदको टिम स्पर्धामा रजत (आर्मीबाट, सुवास तामाङ, राहुल बिक र निश्चयजंग रायमाझी)
– फाल्डो सिरिज छनोट २०७६ मा च्याम्पियन, सूर्य नेपाल प्रिमियर लिग समग्रमा च्याम्पियन ।
वर्षकी महिला खेलाडी
अनु अधिकारी (कराते)
– १३औं सागमा स्वर्ण पदक
– आठौं राष्ट्रिय खेलुकदमा रजत पदक
– बंगलादेश, पा“चौं साफ च्याम्पियनसिप करातेमा स्वर्ण पदक
– उज्वेकिस्तानमा भएको १६औं सिनियर कराते च्याम्पियनसिपमा १६औं स्थान
आयशा शाक्य (तेक्वान्दो)
– १३औं सागमा दुई स्वर्ण
– आठौं बृहत राष्ट्रिय खेलकुदमा कांस्य
गौरिका सिंह (पौडी)
– १३औं सागमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक
– सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानस“ग बराबर
– आठौं राष्ट्रिय खेलकुदमा सहभागी सबै स्पर्धा अर्थात १२ स्वर्ण जित्न सफल ।
सन्तोषी श्रेष्ठ (एथलेटिक्स)
– १३औं सागमा १० हजार मिटर दौडमा स्वर्ण पदक
– आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण, रजत र कांस्य ( ५ हजार, १५ सय र १० हजार मिटरमा)
– वीर गणेशमान सिंह १० किमि रोड रेसमा स्वर्ण
– नेवाः च्यारिटी धरान १० किमी रनमा स्वर्ण
– कान्तिपुर हाफ म्याराथन (२१ किमी) मा रजत
सोनी गुरुङ (ट्रायथलन)
– १३औं दक्षिण एसियाली खेलकुद (साग) मा एक स्वर्ण र एक रजत
– आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण
– दोस्रो ग्रेड बुद्धिस्ट ट्रेल– २०१९ मा स्वर्ण
– हाइअल्टिच्युट त्रि–एडभेन्चर प्रतियोगिता २०१९ मा स्वर्ण
वर्षका युवा खेलाडी
भूपेन श्रेष्ठ (तेक्वान्दो)
– १३औं सागमा स्वर्ण पदक
– आठौं बृहत राष्ट्रिय खेलकुदमा स्वर्ण
– हैदराबादमा आयोजित दोस्रो इन्डिया ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
– चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा कांस्य
पूनम श्रेष्ठ (जुडो)
– १३औं सागमा स्वर्ण
– आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण
– राजविराजमा सम्पन्न छैटौं नेसनल ओपन जुडो च्याम्पियनसिपमा स्वर्ण
सञ्जु चौधरी (भारोत्तोलन)
– १३औं सागमा स्वर्ण (राष्ट्रिय कीर्तिमान)
– सुनीललाल मेमोरियलमा स्वर्णसहित उत्कृष्ट खेलाडी
– चीनमा भएको एसियन च्याम्पियनसिप र टोकियो ओलम्पिक छनोट खेलमा प्रतिस्पर्धा
सिना लिम्बु मादेन (तेक्वान्दो)
– १३औं राष्ट्रिय खेलकुदमा १ स्वर्ण, १ कांस्य
– आठौं राष्ट्रिय खेलकुदमा १ स्वर्ण, १ रजत, १ कांस्य
– नवौं कोरियन एम्बेसडर खुला राष्ट्रिय तेक्वान्दोमा १ स्वर्ण, १ रजत, १ कांस्य
सुवास तामाङ (गल्फ)
– साग दुई स्वर्ण (व्यक्तिगत र समूह)
– आठौं राष्ट्रिय खेलकुदको टिम स्पर्धामा रजत (आर्मी टिम–सुवास तामाङ, राहुल बिक र निश्चयजंग रायमाझी)
– फाल्डो सिरिज छनोट ०७६ मा च्याम्पियन ।
– सूर्य नेपाल प्रिमियर लिग समग्रमा च्याम्पियन ।
वर्षका उत्कृष्ट प्रशिक्षक
अमरकुमार थिङ (उसु)
– १३औं सागमा ५ स्वर्ण, ६ रजत ५ कांस्य पदक जिताउन सफल
मदन उप्रेती (कराते)
– राष्ट्रिय कराते टिमको मुख्य प्रशिक्षक
– १३औं सागमा नेपाललाई १० स्वर्ण, ४ रजत र ५ कांस्य पदक जिताउन सफल ।
नवीन श्रेष्ठ (तेक्वान्दो)
– १३औं सागमा तेक्वान्दोबाट नेपाललाई सर्वाधिक १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक दिलाउन सफल
– तेक्वान्दोबाट साग खेलेका २९ जना सबै खेलाडीलाई पदक
– चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली टोलीका प्रशिक्षक ।
प्रकाश थापामगर (बक्सिङ)
– १३औं सागमा ३ स्वर्ण, ६ रजत ६ कांस्य पदक जिताउन सफल
शंकर कार्की (पौडी)
– १३औं सागमा ४ स्वर्ण, ४ रजत ४ कांस्य पदक जिताउन सफल
– आठौं राष्ट्रिय खेलकुदमा पुलिस टिमलाई दोस्रो स्थानमा ल्याउन भूमिका






