पोखरा, २५ पुस । गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)को शनिबार पोखरामा १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले साधारणसभाको उद्घाटन गर्दै चलचित्रमार्फत गुरुङ कला, संस्कृति, मौलिकता, कथाबस्तु संरक्षण,सवर्द्धनका साथै अन्तर्राष्ट्रियकरणका लागि गुरुङ चलचित्रको योगदान अतुलनीय रहेको बताए । तमु एकता, भाषा, कला संस्कृति संरक्षण सबै तमु संघ संस्थाको उद्देश्य भनिए पनि व्यवहारमा कार्यन्वयनमा जिफान जुटिरहेको भन्दै प्रशंसा गरे ।
गुरुङ चलचित्र क्षेत्र अझै पनि राज्यबाट विभेदमा परेको भन्दै अधिकार प्राप्तिका लागि एकता, सचेततासहित दवाव दिनुपर्ने उनको जोड थियो । गुरुङ चलचित्र कम्पनीहरुको विकास व्यवसायिकतासँगै जिफानको संस्थागत विकासका निम्ति विशेष ध्यान दिनुपर्ने प्रमुख अतिथि गुरुङको सुझाव थियो ।
कार्यक्रममा तमु सांस्कृतिक प्रतिष्ठान नेपालका कार्यवाहक अध्यक्ष श्रीजंग गुरुङ, तमु कलाकार संघ गण्डकीका महासचिव टसबहादुर गुरुङ, जिफानका पुर्व अध्यक्ष गिरीप्रसाद गुरुङ, पुर्व कानुनी सल्लाहकार कृष्णकुमार गुरुङले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा गुरुङ चलचित्र, गीत संगीतको प्रचार प्रसारका लागि पत्रकारिता क्षेत्रबाट विशेष योगदान दिएको भन्दै पत्रकार राजाराम पौडेललाई प्रमुख अतिथि हुमबहादुर गुरुङ, जिफानका अध्यक्ष भोजबहादुर गुरुङ र जिफानका प्रमुख संरक्षक, संस्थापक अध्यक्ष माओत्से गुरुङले सम्मानपत्र, फेटा र खादाबाट सम्मान गरिएको थियो ।
रेडियो अन्नपुर्ण र पोखरा न्युज डटकममा आवद्ध सम्मानित पत्रकार पौडेलले जिफानको सम्मानले आफुलाई थप प्रोत्साहन मिलेको र गुरुङ चलचित्रका विषयमा आगामी दिनमा थप समाचार लेखन र प्रसारणका निम्ती जुट्ने प्रतिवद्धता जनाए ।
जिफानका अध्यक्ष भोजबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष गुञ्ज गुरुङ र संचालन कार्यवाहक महासचिव लबसन गुरुङले कार्यक्रम संचालन गरेका थिए ।