लन्डन माघ १२ । तमू समाज केन्ट यूकेको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
अध्यक्ष राजदेवी गुरुङको अध्यक्षतामा भएको शनिबार भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न भएको हो । महासचिव गोलमान गुरुङले सञ्चालन गरेको साधारणसभामा रास्ट्रिय धुन बजाएर उपस्थित सबैलाई प्रथम उपाध्यक्ष डोल गुरुङले स्वागत मन्तव्य दिएका थिए भने अध्यक्ष राजदेवी गुरुङले पानसमा बत्ती बालेर साधारणसभा उद्घाटन गरेकी थिइन् । उनले वर्षभरिका गतिविधि र आगामी दिनहरुमा समाजले गर्नुपर्ने कार्ययोजना अगाडि बढाउदै लैजानेमा जोड दिएकी थिइन् ।
कोषाध्यक्ष भीमप्रसाद गुरुङले आर्थिक प्रतिवेदन विवरण प्रस्तुत गरे भने जेष्ठ नागरिक संयोजक बलवीर गुरुङले वृद्ध आमाबाबाहरुको अवस्थाका बारेमा जानकारी गराएका थिए । साँस्कृतिक संयोजक ममता गुरुङले आफ्नो छोटो प्रतिवेदन, सल्लाहकार एवम् पूर्वअध्यक्ष गम गुरुङले समाजले गरेका कामहरुको प्रशंसा गर्दै आफ्ना मार्ग निर्देशनका भनाइहरु राखेका थिए ।
कार्यक्रममा महासचिव गुरुङले वार्षिक प्रतिवेदनमार्फत समाजका कार्यका बारेमा सदस्यहरुलाई छर्लङ्ग पारेका थिए । कार्यक्रममा समाजका सल्लाहकार एवम् पूर्व अध्यक्षहरु चित्र गुरुङ, गुनबहादुर गुरुङ र बलराम गुरुङले समाजको उद्देश्य पूरा गराउन र समाजले खेल्दै आएको उल्लेखनीय भूमिकाहर बारे संक्षिप्त रुपमा आ-आफ्ना भनाइहरु राखेका थिए । साधारणसभामा प्रस्तुत गरिएको विभिन्न प्रस्ताव उपर उपस्थित भएका सदस्यहरुले सक्रियतापूर्वक गहन छलफल गरेका थिए ।
साधारणसभामा सहभागीहरुले राखेको विभिन्न प्रश्नहरुको औचित्यका साथ जवाफ अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षले दिएका थिए । पछिल्लो समय विश्व भूमण्डलीकरणको कारण साँस्कृतिक र भाषिक अस्तित्वहरु सकिँदै गईरहेको सन्दर्भमा तमू समाज कन्ट यूकेले पनि तमूहरुको आफ्नो संस्कार, संस्कृति, भाषा, भेषभूषा, रितिरिवाज, परम्परा र कलालाई जीवन्त राख्नका लागि सक्रिय हुँदै आइरहेको छ ।
समाजका अध्यक्ष गुरुङले समाजको उद्देश्य पूरा गराउन अहिलेको असहज परिस्थितिमा कार्यसमितिले खेलेको उल्लेखनीय भूमिकाहरु र जिम्मेवारीहरु संक्षिप्त रुपमा प्रकाश पारे ।
अन्त्यमा अध्यक्ष गुरुङले उपस्थित सम्पूर्ण केन्टबासी गुरुङहरुलाई अहिलेको यो महामारीको संक्रमण र प्रकोपबाट बच्न अझै पनि सबैजना एकदमै अनुशासित र सुरक्षितसँग सरकारले लागू गरेको नीति, निर्देशन र आदेशको पूर्णरुपले पालना गरिदिनुहुन र समाजका जेष्ठ नागरिक बाबाआमाहरु प्रतिविशेष ख्याल राख्न अनुरोध गरिन् । कार्यक्रममा आजीवन सदस्यहरुका साथै समाजका सदस्यहरु वृद्धवृद्धादेखि युवायुवतीसमेतको बाक्लो उपस्थिति थियो । समाजमा ३१८ जना आजीवन सदस्य छन् ।


