
लन्डन माघ २२ । युरोपकै सबैभन्दा ठूलो इन्भेस्टमेन्ट कम्पनी ‘भेन्चर क्यापिटल’ मा कार्यरत बेलिन्डा गुरुङ युरोपका टप ३० युवा ‘भेन्चर क्यापिटालिस्ट’ को सूचीमा परेकी छन् ।
बेलिन्डा फाइनान्सियल टाइम्सको एक सहप्रकाशनले प्रकाशन गरेको सूचीमा पर्न सफल भएकी हुन् ।
बेलायती सेनाका मेजर बुद्धि गुरुङकी छोरी बेलिन्डा युरोपभरमा इन्भेस्टमेन्टका क्षेत्रमा क्रियाशील २६ वर्ष मुनिका हजारौं युवामध्ये उत्कृष्ट प्रदर्शन गर्ने तीस जनाको सूचीमा उनी परेकी हुन् । फाइनान्सियल क्षेत्रमा कार्यरत युवा प्रोफेसनलहरुले प्रदर्शन गरेको नतिजा र भावी सम्भावनालाई हेरेर सूची तयार गरिएको हो ।
बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयबाट पोलिटिक्स, फिलोसफी र इकोनोमिक्स ( पिपिइ) मा मास्टर्स गरेकी बेलिन्डाले सन् २०१८ मा भेन्चर क्यापिटल जोइन गरेकी थिइन् । कम्पनीमा उनी इन्भेस्टरका हैसियतमा कार्यरत छन् । भेन्चर क्यापिटालिस्टका रुपमा इच्छुक लगानीकर्ता र लगानीको आवश्यकतामा रहेका कम्पनीहरुबीच सम्पर्क, समन्वय र सम्झौता गरिदिने काम बेलिन्डाले गर्ने गर्छिन् ।
कास्की सिदाने पुर्ख्यौली रहेको गुरुङ परिवार पछि चितवनको भरतपुर सरेको थियो । बेलायतमा उनीहरु वकिंगहम बरोमा बस्दै आएका छन् । कामको सिलसिलामा बेलिन्डा भने अहिले लन्डनमै बस्ने गरेकी छन् ।






