लन्डन फागुन २ । सहारा यूकेले पोखराको प्रतिष्ठित संस्था वगर भाइ खलकलाई सहयोग गर्ने भएको छ । सहारा यूकेले भाइ खलकको आयोजनामा हुने चौथो रन्जित गुरुङ स्मृति तथा दशौं वगर भाइ खलक एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताका लागि सहयोग गर्ने भएको हो ।
सहारा युकेले उक्त प्रतियोगिताको दोस्रो पुरस्कारको राशि नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने अध्यक्ष कुमार गुरुङले जानकारी दिए ।
‘स्वास्थ्यका लागि एक घन्टा व्ययाम, नागरिकका लागि नौलो आयाम’ भन्ने मूल उद्देश्यका साथ यही फागुन २४ देखि २९ गतेसम्म आयोजना हुने भेट्रान्स एट ए साइडका लागि सहयोग गर्न पाउँदा निकै खुसी लागेको सहारा यूकेका अध्यक्ष गुरुङले बताए । उनले भने–’यो पाका उमेरका खेलाडीसँगै खेलकुदमार्फत जागरुकता ल्याउन भाइ खलकको एक महत्वपूर्ण कार्यक्रम हो यसमा सहयोग गर्न पाउनु गौरवको विषय हो ।’
उक्त रकम सहारा यूकेका महासचिव धनु थकालीले भाइ खलकका अध्यक्ष दिलबहादुर गुरुङलाई हस्तान्तरण गर्ने कार्यक्रमसमेत रहेको छ ।
सहारा यूकेले नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने १५ औं संस्करणको पोखरा म्याराथनका लागि समेत १ लाख ५० हजार नगद सहयोग दिइसकेको छ ।






