लन्डन चैत १६ । वातावरणविद् विजय हितानको इको गीत ‘संरक्षणका हातहरू’ सार्वजनिक भएको छ ।
२७ मार्च २०२१ का दिन अर्थ आवरको अवसरमा बिएफबिएस गोर्खा रेडियोमा प्रसारण गरेर उक्त गीत सार्वजनिक गरिएको हो । गीतको लिरिकल भिडियो पनि सोही दिन हितानकै ब्यक्तिगत यूट्युब च्यानलबाट रिलिज गरिएको थियो । जसको लिंक यस प्रकार छ- https://www.youtube.com/watch?v=ap_9tB7Md_M
सोही दिन भर्चुवल माध्यमद्वारा विश्व नेपाली साहित्य महासंघ साउथ यूकेले ‘इको गीत वाचन तथा सृजना कार्यक्रम’को आयोजना गरेको थियो । कार्यक्रममा पनि यस गीतको लिरिकल भिडियो प्रदर्शन गरिएको थियो । प्रदर्शनपश्चात, ‘रहरहरू अनेक हुन्छन् मान्छेका । मेरा पनि थिए र छन् । कसैका माया पिरतीका गीत लेख्ने । तर मेरा इको इर्थात् वातावरणीय गीत लेख्ने । तीनै मध्येका एक रहर आज पूरा भएको महसुस गरेको छु’ भनेर हितानले आफ्नो मन्तव्य उपस्तथित सर्जकमाझ राखेका थिए ।
हितानद्वारा रचित यो प्रथम रेकर्डेड गीत हो । गीतमा संगीत राजकुमार बगरले भरेका छन् भने स्वर नवराज थापाको छ । लिरिकल भिडियो भने सुरेन्द्र इंगनामद्वारा निर्माण गरिएको हो । ‘स्रोता दर्शकको प्रतिक्रिया कस्तो आउने हो थाह छैन, तर आफैलाई अति आत्मसन्तुष्टि मिलेको अनुभव गरेको छु’ हितानले भन्नुभएको छ ।
अर्थ आवर एक अन्तर्राष्ट्रियस्तरको वातावरणीय जनचेतना फैलाउने कार्यक्रम हो । यो प्रत्येक वर्षको मार्च महिनाको अन्तिम शनिबार बेलुकाको ८:३० देखि ९३० बजेसम्म बिजुली बत्ती निभाएर मनाइन्छ । हितान पेसाले वातावरणविज्ञ हुन् भने नेपाली इको साहित्यका एक अभियन्ता पनि हुन् ।






