विजय हितान
आज ९ अप्रिल । मास्टर मित्रसेनले यो धरती छोडेको दिन सन् १९४६ मा । उनको यस ७५ औं पुन्यतिथिमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मैले उनको जीवनलाई अध्ययन गर्दा घटेका सम्भावित घटनाको छोटो अंश यहाँ सेयर गर्न चाहेँ .
… कुनाघाटको कार्यक्रम सिध्याएर म पाँचजना कलाकारलाई लिएर कलकत्ता लागें । बराल केही दिन त्यहीं ठहर्ने हुनुभयो । रेक्रुट तालिमको व्यवस्था मिलाएर मात्रै अलिक दिनपश्चात् भाग्सु फर्कने हुनुभयो । मेरा केही सामान बरालसँग छोडिदिएँ ।
बिहानै गोरखपुर रेलस्टेसनको लागि निस्कियौं । कुनाघाट छावनीको गेटैमा एउटा चिया पसल रहेछ । एक/एक कप चिया पिएर लाग्ने भने साथीहरुले । गंगामाया गुरुङ नाम गरेकी दिदीको चिया पसल रहेछ । चिया बनाउँदै गर्दा मेरो हिजोको प्रवचन आफूलाई पण्डितको जस्तो लागेको बताइन् । उनलाई हिजोको शोमा सम्झने प्रयास गरें । मैले ‘सबै मिली गावौं हामी राम गुण गावौं, राम गुण गावौं अनि कृष्ण गुण गावौं’ भन्ने भजन गाउँदा रातो सारीमा एक अधबैंसे महिला नाचिकी थिइन् । तिनै रहिछन् गंगामाया ।
किताब नै नहेरी ज्ञानगुण, अर्ती उपदेशका कुरा गरेका; साथै परिस्थिति सांपेक्ष गीत तथा भजन प्रस्तुत गरेका बारेमा उनले मेरो खुलेरै प्रशंसा गरिन् । गङ्गामायाजस्ता साधारण स्रोता दर्शकले यस्ता कुरा भनेको सुन्दा खुबै आनन्द आयो । जनचेतनाका यस्तै कोसेली लगेर तिनको घरआँगनमा पुन: जाने वाचा गर्दै, तातो चियाले पेट टन्न पारेपस्चात हामीहरु स्टेसनतिर लागेका थियौं ।
मादल, हार्मोनी, डायरी र एउटा झोला लिएर म र साथीहरु कलकत्ता लाग्यौं । त्यो यात्रा अझै ऐतिहासिक हुन गइरहेको थियो । सृजना र कलालाई रेकर्ड गर्न चाहन्थे ताकि मेरो मृत्युपछि पनि स्रोताहरुले मेरो स्वर सुनिरहुन् । मलाई लागेको थियो, नेपाली गीतसंगीत तथा नाटकलाई यसरी आजसम्म कसैले रेकर्ड गरेका छैनन् । रेकर्ड गरेरे के गर्नु ? कहाँ लगेर बजाउनु ? नेपालमा सरकारी रेडियो सेवा भए पो ! नत्र त यो यात्रामा कहीं न कतै रेडियो बजेको सुन्नु पर्ने मैले । अँ.. ह… कसैको घरमा रेडियो देखिन पनि, कसैको घरमा सुनिन पनि । तर निकट भविष्यमा त जाला नेपालमा पनि रेडियो । यहाँ इन्डियामा अल इन्डिया रेडियो छ । मेरा गीतसंगीत रेकर्ड भए भने यस रेडियोले कसो नबजाइदेला र ! ?
द्रौपती चिरहरण र ध्रुव चरित्र यी दुई नाटकको साथै लाहुरेको रेलिमाई, नौतल्ले बावन्ने ढोका, मलाई खुत्रुक्कै पार्यो जेठान, स्वामी नजाउ विदेश कलकत्तास्थित डमडमको एच् एम भिमा रेकर्ड गराइयो ।
त्यसपछि बिदाबादी भएर म भाग्सु लागें, उनीहरु नेपाल ।….






