
लन्डन वैशाख ६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको २०२१-२०२३ को निर्वाचनमा अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष प्रेम गाहामगरले उम्मेदवारी दिने भएका छन् ।
एनआरएनए यूकेको अध्यक्षको उम्मेदवारको रुपमा हेरिएका आइसीसी सदस्य दयानिधि सापकोटा, उपाध्यक्षहरु रामचन्द्र पोखरेल, मोहन कार्की तथा नारायण कँडेल लगायतको प्रस्तावपछि दुई कार्यकाल उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका गाहामगर अध्यक्षका लागि अघि सरेका हुन् । तर उनको उम्मेदवारीको औपचारिक घोषणा भने भइसकेको छैन ।
त्यस्तै यसअघि अध्यक्षमा प्रतिस्पर्धा गरेका शेरबहादुर सुनारले पनि समर्थन गरेका छन् । एनआरएनए यूकेअन्तर्गत इङ्गल्याण्ड राज्य परिषद्का उपाध्यक्ष एलबीजेड गुरुङले पनि गाहा मगरलाई समर्थन गरेका छन् ।
एनआरएनए यूकेलाई आर्थिक रुपमा स्वच्छ र पारदर्शी बनाउन कार्यसमितिभित्र लडिरहेका गाहामगरले नयाँ सदस्यता आवेदनका लागि बेलायतवासी नेपालीलाई आव्हान गरेका छन् । सामाजिक संजालदेखि इमेल, टेलिफोन र मोबाइल म्यासेज गरेर संस्थाको सदस्य बनी आफ्नो एजेण्डालाई सहयोग गर्न उनले आग्रह गरिरहेका छन्, सदस्यता ड्राइभ गरिरहकै छन् । बेलायतभर सदस्यता एकै पटक ड्राइभ गर्ने विभिन्न ठाउँमा स्वयंसेवक साथीहरु पनि खटाइसकेको उनले बताए ।
गुल्मी जिल्लामा जन्मेका गाहामगर वर्षौदेखि सुल्झन नसकेको भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न यतिबेला लागि परेका छन् । एनआरएनए यूके गोर्खा विभागको प्रमुख संयोजकसमेत रहेका गाहा मगरले गत महिनामात्रै बेलायतस्थित प्रमुख गोर्खा संघसंस्थाहरुलाई एकै ठाउँमा बोलाएर छलफल तथा अन्तरक्रिया गराए । ती निष्कर्षहरुलाई बेलायतस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई र ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सनलाई पठाइसकेका छन् । “पद मा रहुँ वा नरहूँ , न्याय र समानताका लागि हाम्रा भेटरानहरुले गएको तीन दशकदेखि राख्दै आउनुभएका मागहरु पूरा नभएसम्म मैले विश्राम लिने छैन,” उनले भने ।
नेपालमा राष्ट्रिय बक्सिङ खेलाडी रहीसकेका गाहामगरले सन् १९९६ मा ब्रिटिस गोर्खामा प्रवेश गरेका थिए । लगत्तै सन् १९९७ मा उनले ब्रिटिस सेनाको तर्फ़बाट विभिन्न मुलुकमा भएका बक्सिङ्ग प्रतियोगितामा भाग लिएका थिए । सामाजिक सेवामा सधैं दत्तचित्त गाहा मगरले एनआरएनएमा पहिलो पटक उपाध्यक्ष हुँदा (२०१७-१९) बक्सिङ्ग शो सहित च्यारिटी डिनर, नेपालका अपांग दाजुभाइ, दिदीबहिनीहरुको सहयोगार्थ कार्यक्रम तथा भ्वाइस अफ नेपाल कन्सर्ट सफलतापूर्वक सम्पन्न गरे ।
“बेलायतको गोर्खा समुदायलगायत सबै जात, जाति र समुदायको हित सुरक्षित गर्नुक साथै नेपाली समुदायलाई सशक्त र एकजुट बनाउनु मेरो एक मात्र लक्ष्य हो,” उनले भने।
एनआरएनए यूकेमा नयाँ सदस्यता ड्राइभ गरिरहेका उपाध्यक्ष गाहामगरले छिट्टै भर्चुअल रुपमा पत्रकार सम्मेलन गरी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने योजना बनाएको बताए ।






