लन्डन। नेपाल आदिवासी जनजाति महासंघ यूके (नेफिन) यूकेले आगामी ८ अगस्ट २०२६, शनिबारका दिन ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव २०२६ भव्य रूपमा आयोजना गर्ने भएको छ।
महोत्सव सरेको वोकिङस्थित किरात हाउस ग्याम्बल्स लेन, रिप्ले, GU23 6HS मा आयोजना हुने यस ऐतिहासिक महोत्सवका लागि नेफिन यूकेले सम्पूर्ण नेपाली समुदाय, आदिवासी जनजाति सम्बद्ध संघसंस्था तथा इच्छुक महानुभावहरूलाई नेफिन युकेका अध्यक्ष मेजर योगेश कोयी राईले गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेका छन् ।
महोत्सवको मुख्य उद्देश्य नेपालका आदिवासी जनजातिहरूको समृद्ध भाषा, संस्कृति, कला, परम्परा, रीतिरिवाज र पहिचानको संरक्षण, प्रवर्द्धन एवं पुस्तान्तरण गर्नु रहेको छ। साथै, संयुक्त अधिराज्य (यूके) भर छरिएर रहेका आदिवासी जनजातिहरूबीच आपसी एकता, सद्भाव, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्दै नेपालको बहुरङ्गी सांस्कृतिक सम्पदालाई व्यापक समुदायसमक्ष परिचित गराउनु महोत्सवको मूल लक्ष्य हो।
महोत्सवका मुख्य आकर्षण तथा कार्यक्रमहरू:
झाँकी तथा सांस्कृतिक जातीय मार्चपास: विभिन्न आदिवासी (मूलवासी) जनजातिहरूले आफ्नो मौलिक भेषभूषा, सांस्कृतिक पहिचान र परम्परा झल्काउने आकर्षक झाँकीहरू प्रदर्शन गर्नेछन्। साथै, मञ्चमा विविध सांस्कृतिक नृत्य तथा सांगीतिक कलाको अद्वितीय प्रस्तुति रहनेछ।
परम्परागत धनुषबाण प्रतियोगिता: नेपालका आदिवासी जनजातिहरूको ऐतिहासिक एवं परम्परागत खेललाई जीवन्त राख्न महोत्सवमा धनुषबाण प्रतियोगिताको विशेष आयोजना गरिनेछ।
पुरुष तथा महिला भलिबल प्रतियोगिता: विभिन्न समुदायका टोलीहरूबीच आपसी मैत्रीभाव र स्वस्थ प्रतिस्पर्धाका लागि पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन गरिनेछ। प्रतियोगिताका विजेता तथा उपविजेताहरूलाई आकर्षक ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ।
राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति: नेपाल तथा बेलायतका ख्यातिप्राप्त र चर्चित कलाकारहरूद्वारा सांगीतिक, सांस्कृतिक तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिनेछ।
मौलिक परिकार तथा प्रदर्शनी: आगन्तुकहरूले विभिन्न आदिवासी समुदायका रैथाने एवं मौलिक स्वादका परिकारहरूको अनुभव लिनुका साथै सांस्कृतिक प्रदर्शनी र पारिवारिक मनोरञ्जनका विविध गतिविधिमा सहभागी हुन पाउनेछन्।
नेफिन यूकेले यस वृहत् सांस्कृतिक उत्सवलाई भव्य र सफल बनाउनका लागि सम्पूर्ण मित्रहरू, शुभेच्छुकहरू तथा नेपाली समुदायलाई परिवारसहित उपस्थित भई मौलिक संस्कृति र पहिचानको संरक्षणमा एकजुट हुन अपिल गरेको छ।






