लन्डन। नेपालबाहिर नेपाली समुदायद्वारा आयोजना हुने सबैभन्दा ठुलो खेलकुद प्रतियोगितामध्येको एक ‘ए-स्टार नेपाल बास्केटबल लिग २०२६’ को पाँचौँ संस्करणको उपाधि ग्रीनफोर्ड नाइट्सले जितेको छ। लन्डनस्थित ब्रुनेल विश्वविद्यालय स्पोर्ट्स सेन्टरमा शनिबार सम्पन्न फाइनल भिडन्तमा स्यान्डहर्स्ट निक्सलाई पराजित गर्दै ग्रीनफोर्डले आकर्षक ट्रफी चुमेको हो।
विजेता टोलीलाई लिगको मुख्य प्रायोजक ‘ए-स्टार मोर्गेजेज यूके’ तथा ‘ए-स्टार रियल एस्टेट्स यूके’ का प्रबन्ध निर्देशक मिन दर्लामीले ट्रफी हस्तान्तरण गर्नुभयो। त्यस्तै, लन्डन बरो अफ हन्सलोका पूर्व मेयर बिष्णु बहादुर गुरुङ, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ तथा नेपाल पत्रकार महासंघ यूके शाखाकी अध्यक्ष बिमला सेनेले विजयी तथा उपविजेता खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो। प्रतियोगिता अवधिभर खेलाडीहरूलाई नेपाल फुड्स र अनुग्रह ज्वेलर्स लगायतले गिफ्ट ह्याम्पर प्रदान गरेका थिए।
प्रतियोगिताअन्तर्गत नै भएको भेटरान्सतर्फको खेलमा स्ल्यामर्स र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच रोचक प्रतिस्पर्धा भएको थियो। यसैगरी, महिलातर्फ विमेन बलर्स क्लबले लन्डन हटशट्सलाई पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो।
कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित नेपाली महिला बास्केटबल टोलीकी राष्ट्रिय कप्तान अनुशा मल्लले पनि विजयी खेलाडीहरूलाई पुरस्कार प्रदान गर्नुभएको थियो। खेलको स्तर उत्कृष्ट रहेको बताउँदै कप्तान मल्लले नेपालबाहिर नेपालीहरूबीच यसरी भव्य खेल भइरहेको देख्दा निकै खुसी लागेको धारणा व्यक्त गर्नुभयो। उहाँले समय मिलाएर खेललाई निरन्तरता दिन र आफ्नो प्यासनलाई फलो गर्न सबैलाई आग्रह समेत गर्नुभयो।
यसअघि गत जुन २१ मा फेल्थमस्थित स्प्रिङवेष्ट एकेडेमीमा सम्पन्न सेमिफाइनल खेलहरूबाट फाइनलको समीकरण पूरा भएको थियो। पहिलो सेमिफाइनलमा स्यान्डहर्स्ट निक्सले ह्याम्पशायर हुपर्सलाई ८२–७७ को प्रतिस्पर्धात्मक अङ्कले तथा दोस्रो सेमिफाइनलमा ग्रीनफोर्ड नाइट्सले बलर्स स्ल्यामर्समाथि १०९–७७ को फराकिलो अन्तरले जित निकाल्दै फाइनल यात्रा तय गरेका थिए।
शनिबार भएको फाइनल भिडन्त निकै रोमाञ्चक र उच्च स्तरको रहेको लिगका संयोजक सार्थक गुरुङले बताउनुभयो। त्यस्तै, नेपाल बास्केटबल यूकेका अध्यक्ष रूपक गुरुङले प्रतियोगितालाई यो उचाइसम्म पुर्याउन योगदान दिने सम्पूर्ण खेलाडी, स्वयंसेवक, प्रायोजक तथा दर्शकहरूप्रति हार्दिक आभार प्रकट गर्नुभयो। मुख्य प्रायोजक ए-स्टार मोर्गेजेज तथा रियल एस्टेट्सका प्रबन्ध निर्देशक दर्लामीले यस्ता खेलले युवाहरूलाई रचनात्मक कार्यमा लाग्न प्रेरित गर्नुका साथै उनीहरूको व्यक्तित्व विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।







