मेरो पहिलो विदेश यात्राको अनुभव

SHARE:

श्रीप्रसाद गुरुङ (काइँला दाइ)
अमेरिका USA

‘खैरेहरुको (जातको नाम)ले बोलाउने चलनले गर्दा मेरो जिन्दगीमा एउटा भुल्नै नसकिने घटना भएको छ । वास्तवमा भयो के ? भने दुई जना गुरुङ, म र अर्को एक जना गुरुङ एउटै फ्लाइटमा रहेछौं । अर्को गुरुङ म भन्दा पछि नै झर्दै रहेछ । उस्लाई पिकअप गर्न आएको खैरेले मिस्टर गुरुङ भन्यो र मैले एस भनेर उस्को पछि लागेको, म कहाँ पुग्नु पर्ने मान्छेलाई कहाँ पुर्‍याइदियो । कहिले हे भगवान् यो त सपना भइदिए नि हुन्थ्यो भन्ने बनायो भने कहिले सपना त होइन ? यो त बिपनामै होस् भनेर भगवानको नाम लिने बनायो ।’

कुरा २००२ सालतिरको हो । धेरै संघर्ष, प्रतिक्षा र कति पटक म्यानपावर अफिस (British Gurkha Overseas Service) धाएपछि अस्ट्रेलियामा भएको star cruise ship (तर Hong Kong कम्पनीको ship)मा सेक्युरिटीमा जागिर पाइयो । खुट्टा भुइँमा थिएन अस्ट्रेलिया जान पाइयो भनेर । जसोतसो उडियो काठमाडौंबाट । जिन्दगीमा यत्ति ठूलो प्लेन चढेको र यत्ति लामो यात्रा गरेको पहिलो पटक, राम्रै भयो अनुभव ।

झर्नेबित्तिकै इमिग्रेसनको काम सिध्याएर लगेज लिएँ अनि अरुको पछि पछि लागें । बाहिर नै निस्किसकेको रहेछ आफूलाई तब थाह भयो जब एउटा हेर्दै गफाडीजस्तो देख्ने खैरेले मिस्टर गुरुङ भन्दै मेरो सुटकेस तान्न आयो । म एस भन्दै उस्को पछि लागेँ, गर्व पनि लाग्यो । एउटा गोराले मेरो सुटकेस तानिदिँदैछ र उस्को गाडीमा राखेर होटेलतिर हुँइकियो ।

बाटोमा मैले सोधें उस्लाई ‘How do you know I’m Mr Gurung ?’ उस्ले घमण्ड गर्दै भन्यो ‘this is my 22 year’s job experience.’ खैरे गफाडी नै रहेछ यति गफ दियो, यति गफ दियो कि मुस्किलले 25 % बुझें होला उस्को कुरा | पछि थाह भयो टिप्स दिने चलन रहेछ, टिप्स झार्न पनि गफ दिनेरहेछ, आफू परियो ब्रान्ड न्यू टुरिस्ट, के थाह टिप्स भन्ने ? खैरेको गफ खेरै गयो |

होटेलमा रजिस्टर गर्दा रिसेप्सनिष्टले त भन्दै थियो रुम त जिएस गुरुङको नामबाट बुक भएको छ भनेर मैले मेरो नाम एसपी गुरुङ हो भनेँ । उस्ले मे बी प्रिन्टिङ मिस्टेक भयो भन्दै सच्च्यायो, त्यति सिरियस्ली लिएन । वाउ जिन्दगीमा पहिलो पटक यति राम्रो होटल र रेस्टुरेन्टमा खान खाएको । वेटर्स पनि कति राम्री गोरिनी ठिटीहरु, हेरेको हेर्‍यै भएँ म त । खान सर्व गर्नेक्रममा एउटी ठिटीले सोध्दै थिई ‘where are you from ? भनेर, मैले फ्रम नेपाल भन्दै थिएँ । एक जना नेपालीले पनि काम गर्छ रे यही रेस्टुरेन्टमा तर बिहानको सिफ्टमा । मैले नेपालीको नाम सोधेको क्यामेल रे उन्टलाई पो भन्छ हामी त क्यामेल । मैले Camel is not Nepali name, I don’t think he is from Nepal भने, भोलि बिहान ब्रेकफास्ट दिन पो एउटा नेपाली केटा आउँछ | नाम सोधेको ‘कमल’पो रहेछ । कहाँको कमल ? कहाँको क्यामेल ? १० बजेतिर त्यही गफाडी खैरे आइपुग्यो मलाई लिन । आज भने धेरै बोलेन खैरे, उस्ले बुझीसकेछ मलाई गफ पिट्नु आफ्नो घाँटी सुकाउनु मात्रै हो । उस्ले ठूलो सिपको अगाडि लगेर गाडी रोक्यो र सामान झार्दै भन्यो, ‘this is your ship’।

शिप हो कि पहाड हो यो ? अगाडि पहाडै उभिए झै, म त छक्कै परें । शिपभित्र जान लामो लाइन रहेछ, लाइनमा उभिएँ । खुशी लाग्यो डकुमेण्ट चेक गर्ने सेक्युरिटी नेपालीहरु नै रहेछ । कागज हेर्दै शिपतिर पठाउँदै गर्दै थिए । मेरो पालो आयो, मेरो कागज हेरिसकेपछि मलाई नै कागज फर्काउँदै त्यो सेक्युरिटी दाइले जे भन्यो मलाई नै विश्वास भएन र फेरि सोधें । हजुर ? त्यो दाइले दोहोर्‍याउनु भयो । हो भाइ तिम्रो शिप त स्टार क्रुइसको रहेछ हिजै राति यहाँबाट गयो यो त कार्निभल हो । आँखा अगाडि अँधेरो छाएजस्तो भयो, मलाई महसुस भइरहेथ्यो केही छिन त्यही उभीरह्यो भने म ढल्छु । म पक्कै ढल्छु बिस्तारै सुटकेसको सहारा लिँदै साइडतिर निस्के अनि केही पर गएर थ्याच्च बसें । केही समयपछि बल्ल होस आएजस्तो भयो । सोचेँ, सपना भइदिए पनि हुन्थ्यो नि, आफैंलाई चिमोटेँ, होइन बिपनै हो । कता कता त्यो गफाडी खैरेको अनुहार सम्झिँदै रिस उठिरहेको थियो । केही उपाय सुझीरहेको थिएन र केही समयपछि नर्मल भयो । सेक्युरिटी दाइकोमा पनि अलि फुर्सद देखें र नजिक गएर रिक्वेट गरेँ । सर मेरो शिप कता गयो होला ? प्लिज मलाई हेल्प गर्नुस्न पहिलो पटक बिदेश आएको केही थाह छैन । मेरो शिप कसरी भेटाउँछु होला ? केही गरिदिनुस्न प्लिज उताबाट जवाफ आयो “खै भाइ कहाँ गयो गयो थाह भएन अब फेरि एउटै कम्पनीको भए त अफिसहरुलाई रिक्वेस्ट गरेर पत्ता लगाउन सक्थ्यो कि ? तपाईंको हङकङको स्टार क्रुइस रहेछ यो यूएसएको कारनिभल शिप हो ।

फेरि पर गएर थ्याच्च बसें र सोंच्दा सोंच्दा केही उपाय देखिनँ, घाँटी पनि सुकीसकेछ किनेरै भने पनि पानी खानु पर्‍यो भन्दै हिँडेको, एउटा साइबर क्याफे भेट्यो, झोला खोलेर कागज खोतलेको मेरो म्यानपावर कम्पनी बिजीओएसको फोन नं इमेल एड्रेससम्म भेट्यो । ‘डुब्तेको तिन्केका सहार’ भनेझैं केही झिनो आशा जगायो । बिजीओएसमा फोन हान्यो कस्ले उठाओस् ? नेपालमा पर्‍यो राती, अफिस त सबै बन्द हुन्छ, जे होस् इमेलमा आफूले जाने जतिको दिमाग खियाएर टुटेफुटे अंग्रेजीमा सबै कहानी लेखें र भनेँ ‘म सिड्नीको शिप टर्मिनल ८ को गेट बाहिर कुरिरहेको छु । प्लिज निड हेल्प अनि सेण्ड गरेँ फेरि फर्केर त्यही शिपको अगाडि बसिरहेँ । यो आशामा कि मेरो इमेल कसैले त पढ्ला र म यहाँ छु भन्ने थाह भएपछि त कोइ लिन आउँछ कि ? टर्मिनल ८ को अगाडि एउटै बेन्चमा बसेको पनि ४ घण्टा बित्यो कोई आएन, अब त रिम् रिम् साँझ पनि हुन लाग्यो, शिपमा जाने मान्छेहरु पनि सबै चढिसके सायद, त्यहाँ पनि सुनसान नै भइसक्यो । अब मैले एउटा मात्रै उपाय देखिरहेको थिएँ त्यो हो फर्केर त्यही कमलको शरण पर्ने !
तर यतिकैमा कहानीमा ट्विट्स आयो ।

के भने जिएस गुरुङलाई पिकअप गर्न गएको खैरेले त मलाई लिएर हिंडिदियो, बिचरा जिएस गुरुङ उतै हराएछ, हुन सक्छ मजस्तै पहिलो पटकको यात्रा थियो कि ? यता शिप हिंड्ने बेला भइसक्यो जिएस गुरुङ गायब, कता हरायो कता ?? ऊ आएर अर्को एकजना छुट्टी जानु थियो, छुट्टी त रोक्नै मिल्दैन तर जिएस गुरुङ आइपुगेन । अब एक जना सेक्युरिटी त चाहियो ।

अघिको सेक्युरिटी दाइ र डब्लुडब्लुएफको खेलाडी झै देखिने एउटा मुस्टन्डे काले,आफु लाई सेक्युरिटी अफिसर भनी परिचय दिँदै मलाई फकाउन आइपुग्यो । अफिसरले सोध्यो तिम्रो स्टार क्रुइसको तलब कति थियो ? मैले भनेँ ४५ हजार त्यो बेला (लगभग नेपाली ४५ हजार) हुने थियो । उस्ले भन्यो मलाई थाह छैन मेरो शिपको सेक्युरिटीको तलब (नेपाली १ लाख २५ हजार) हो के तिमी मेरो शिपमा काम गर्न चाहन्छौ ? ३ गुणा बढी सेलरी त्यो पनि अमेरिकन कम्पनीको शिपमा अमेरिका जान पाउने ? आफ्नो त सानैदेखिको सपना न्युयोर्क भन्ने ठाउँमा पुग्ने । ओ माइ गड ! आर यु किडिङ मी केही नसोची एस ओके भनिहालें र उस्को पछि लागिहाले शीपमा लगेर सेतो सेक्युरिटीको ड्रेस र घोप्टे टोपी दियो, फटाफट लगाएँ नियमअनुसार सेक्युरिटी अफिसरले नयाँ आएको सेक्युरिटीलाई पुरै शिपको टुर गराउने रहेछ र मोटामोटी काम सम्झाउने रहेछ करिब ४० मिनेट उस्को पुच्छरजस्तै भएर पछिपछि हिँडे ।

काले भटटटट बर्बराएको बर्बराइ छ, काम सम्झाएको रे मलाई र धरोधर्म कालेको इंग्लिस एउटा शब्द बुझेको भए मरि जाम । के गर्ने नबुझे पनि एसएस भनिएछ । बुझेझैं गरी खिस्स खिस्स हाँसिएछ डर छ, कतै फेरि यस्ले त अंग्रेजी नै नबुझ्ने रहेछ भनेर काममा नराख्ला भन्ने टुर सिद्धिएपछि एउटा हल डकुमेन्ट्रीजस्तो देखाउँदो रहेछ सेफ्टी सेक्युरिटीको बारेमा । मेरो आँखा स्क्रिनमा भए पनि मन अन्तै थियो । कता कता जिएस गुरुङको बारेमा सम्झिँदै थियो कहाँ पुगे होला बिचरा, के गर्दै होला ? गफाडी खैरेलाई सम्झेर अहिले त रिस होइन माया लागेर आउँदै थियो, जे गरिस ठीक गरिस अहिले भने लागिरहेको थियो हे भगवान्, बिपनामै होस् सपना नहोस् ।

यतिकैमा फेरि कहानीमा भयंकर twist ????
पछाडिबाट कोही चर्को स्वरमा चिच्यायो मिस्टर गुरुङ, मिस्टर गुरुङ । किन बोलएछ भनेर दौडदै पछाडि गएको भन्छ ‘लौ तिम्रो स्टार सेक्युरिटीको मान्छे तिमीलाई लिन आएको छ, बाहिर पर्खेर बसेको छ’। हे भगवान्, हिजो बिजीओएसलाई किन ईमेल पठाएछु । अफिस खोल्नेबित्तिकै मेरो ईमेल पाएछ र अस्ट्रेलियाको एजेन्टलाई तुरुन्त खबर गरेछ, यहाँको एजेन्टले खोज्दै जाँदा पत्ता लागेछ कि, मलाई त क्यार्निभल शिपले आफ्नो शिपमा लैजान आँटेको छ भनेर शिप छुट्न आधा घण्टा बाँकी थियो होला, छुटी हालेको भए त छुटेको छुटेइ हुने थियो नि, यही बेला आइपुग्नुपर्ने ???

फटाफट कपडा टोपी फिर्ता गरेँ, सुटकेस समातें, सिधै शिप बाहिर । यसपालि चाइनिज चालक परेछ कुनै गफ सुन्नु परेन्र चुपचापसँग सिधै सिड्नीको एयरपोर्ट पुगेर हातमा मेलबर्नको फ्लाइट टिकट थमाइदियो । २ घण्टा मा मेलबर्न अनि त्यहाँबाट सिधै स्टार क्रुइसको शिपमा । जे होस् मेरो न्युयोर्क पुग्ने सपनाचाँहि पछि पूरा गराएरै छाडें । पछिल्लो १५ वर्षदेखि न्युयोर्कमा छु तर अमेरिका कसरी आइपुग्यो ?? कहानी यो भन्दा रोचक छ । अर्को अंकमा ……

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!