
लन्डन जेठ ३ । कोरोना भाइरसको जोखिमका कारण इंग्ल्याण्ड, वेल्स् र स्कटल्यान्डमा लगाइएको लकडाउन सोमबार १७ मेदेखि थप खुकुलो बनाइएको छ ।
कोरोना संक्रमण, मृत्यु दर र अस्पताल भर्ना हुनेको संख्यामा कमी आएसँगै सरकारले पूर्वघोषित रोडम्याप अनुरुप तेस्रो चरणमा लकडाउन थप सहज गराएको हो । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गत शुक्रबार नयाँ भेरियन्टको डर बाबजुद सरकार पूर्वनिर्धारित रोडम्यापअनुसार नै अगाडि बढ्ने बताएका थिए ।
सोमबारदेखि पब, बार र रेष्टुरेन्टले इन्डोर खोल्न सक्नेछन् तर टेबल सर्भिसमात्र अनुमति दिइएको छ ।
पेय पदार्थसंगै खाना अर्डर गर्नुपर्ने नियम र १० बजेपछिको कर्फ्यू हटेको छ ।
बेलायतमा कोरोना भाइरसको दोस्रो लहर शुरु हुने संकेत देखिएपछि गतवर्ष अन्तबाट लकडाउन घोषणा भएको थियो । टेकअवेमा मात्र सीमित पब तथा रेष्टुरेन्टले केहि समय अघिबाट आउटडोर सेवा सञ्चालन गर्दै आएका थिए । मानिसहरु ६ जनासम्मको समूह वा दुई परिवार घरभित्र भेटघाट गर्न सक्नेछन् । यस अतिरिक्त साथीभाइ तथा परिवारबीच ६ जनासम्म वा दुई घरपरिवार रात (ओभर नाइट) बस्न अनुमति दिइएको छ । होटल, होस्टल, बी एण्ड बी पुनः सुचारु भएका छन् ।
नयाँ नियमअनुसार अब झण्डै एक वर्षपछि मानिसहरु अंकमाल गर्न पाउनेछन् । तर, सरकारले निकट सम्पर्क हुँदा भाइरसको जोखिम बढी हुने भएकाले सचेत रहन भने अपिल गरेको छ । बिहे वा रिसेप्सन्मा ३० जनासम्म अतिथी बोलाएर रमाइलो गर्न अनुमति दिइएको छ । तर, बिहे समारोहमा नाच्न भने अझै प्रतिवन्ध छ । अन्त्येष्टीमा यसअघि तोकिएको सिमित संख्या सहभागी हुन पाउने नियम हटाइएको छ । यद्यपि, ठाउं हेरि सहभागितामा नियन्त्रण गर्न सकिनेछ ।
सिनेमा, थिएटर, कन्सर्ट हल र संग्रहालय पुनः खुलेका छन् । यसका साथै केटाकेटीको खेल क्षेत्र, इन्डोर खेल गतिविधि र अभ्यास कक्षाहरु, सौना र स्टिम कोठा पनि खुल्ला भएका छन् । एडल्ड सोसल केयर, मेडिकल, रिटेल, हस्पिटालिटी र बिजनेश सेटिङमा भने सामाजिक दूरी नियम कायमै छ ।
केयर होम बस्नेले ५ जनासम्म नाम तोकिएका आगन्तुक बोलाउन पाउनेछन् । अब आउटडोर वृहत खेल र अन्य इभेन्ट्समा ४ हजारसम्म, ठूला इन्डोर इभेन्ट्समा एक हजार र रंगशालामा हुने ठूला खेलमा १० हजारसम्म दर्शक जान सक्नेछन् । इंग्ल्याण्डका विश्वविद्यालय अध्ययनरत विद्यार्थीहरु प्रत्यक्ष कक्षाका लागि विश्वविद्यालय जान सक्नेछन् भने माध्यमिक विद्यालय र कलेजका विद्यार्थीलाई फेस कभरिङ नियम हटाइएको छ ।
सरकारले ग्रीन लिष्टमा परेका देशहरु पोर्चुगल, जिब्रलटार, इजरायल, अष्ट्रेलिया, न्यूजिल्याण्ड, सिंगापुर, ब्रुनाइ, आइसल्याण्ड, फारोइ आइल्याण्ड र ब्रिटिश टेरोटोरीमा पर्ने साना आइल्याण्डहरुमा होलिडे जान छुट दिएको छ ।






