लन्डन जेठ २८ । बर्न्टओक नेपाली समाज यूकेले नेपालका लागि तीनवटा अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ ।
समाजले एनआरएनए यूकेमार्फत एक, जाजरकोट जिल्ला अस्पतालका लागि एक र लमजुङको मर्स्याङ्दीस्थित कोभिड अस्पताललाई एकवटा अक्सिजन कन्सनट्रेटर नेपाल सहयोग गरेको समाजका अध्यक्ष बिष्णु गुरुङले जानकारी दिए । समाजले संकलन गरेको कूल २ हजार १०० पाउन्डमध्ये एनआरएनए युकेलाई ७०० पाउण्ड नगद सहयोग गरेको छ भने जाजरकोट र लमजुङ्गका लागि अक्सिजन कन्सनट्रेटर किनेर पठाएको छ ।
‘नेपालमा कोभिडका बिरामीहरुलाई अक्सिजनको अभाव भएको भन्ने खबरहरु पढ्दा, सुन्दा हामीलाई निकै चिन्ता लाग्यो । तत्काल समाजको बैठक बसेर सक्दो सहयोग गरौँ भनेर यो अभियान सुरु गरेका हौं,’ अध्यक्ष गुरुङले भने ।
गत वर्ष पनि कोरोनाका कारण नेपालमा पहिलो पटक लकडाउन हुँदा रोजगारी गुमाएका श्रमिकहरुलाई सहयोग गर्न समाजले २ हजार २३५ पाउन्ड (नेरु ३२८,५४५) एक टेलिभिनज कार्यक्रममार्फत् सहयोग वितरण गरेको थियो ।






