
लन्डन असार ५ । अबिरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची लगायत नेपालका विभिन्न भागका आएको बाढी पहिरो पीडितहरूलाई सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अपिल गरेको छ ।
अध्यक्ष कुमार पन्तले शुक्रबार विज्ञप्ति जारी गर्दै बाढी तथा पहिरोमा ज्यान गुमाएका सम्पपूर्ण व्यक्तित्वहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरेका छन् । विज्ञप्तिमा भनिएको छ- ‘अबिरल वर्षाको कारण सिन्धुपाल्चोकको मेलम्ची लगायत नेपालभर नै बाढी तथा पहिरो पीडितहरुको दुःखले हामी मर्माहित भएका छौं । बाढी तथा पहिरोमा परि ज्यान गुमाएका सम्पूर्ण व्यक्तित्वहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्दछौं ।’
हरेक वर्ष नेपालमा बाढी पहिरोबाट हुने जनधनको क्षति कम गर्न नेपाल सरकारलाई दीर्घकालिन रणनीति बनाउन पनि सुझाव दिंदै संघले पीडितहरुलाई उचित राहत तथा उद्धारको व्यवस्था गर्न समेत अनुरोध गरेको छ ।
पछिल्लो समयमा कोरोना महामारीमा सहयोग पुरयाइरहेको एनआरएनएको ध्यान यतिबेला बाढी पहिरो पीडिततर्फ मोडिएको छ ।






