
फाइल फोटो
लन्डन असार ३० । जुलाई २४ तारिखमा हुने प्रतिष्ठित गोर्खा कपका लागि तमुधिं यूकेले सहयोग संकलन जारी राखेको छ ।
तोकिएकै दिनमा गोर्खा कप संचालन हुने विश्वास दिलाउँदै तमुधिं यूकेले विगतमा झैं सहयोग गरिदिन अपील गरेको हो । अर्थ संकलन संयोजक
एवै तमुधिं यूकेका उपाध्यक्ष जुमकाजी गुरुङले जारी सन्देशमा लेखिएको छ, ‘तोकिएको दिनमा नै १९औं गोर्खा कप संचालन हुने भएकोले सम्पूर्ण महानुभावहरूलाई कुनै दोधार या अन्योलमा नरहनु हुन विनम्र अनुरोध गर्दछु | साथै यस कर्यक्रम सञ्चालनका निम्ति विभिन्न कुराहरूको आवश्यकता पर्ने र गत वर्षहरू भन्दा यो वर्ष हरेक सामानहरुको पनि मूल्यवृद्धि भएकोले यस गोर्खा कप सञ्चालन गर्नको निमित्त हामीलाई आर्थिक सहयोगको आवश्यकता परेकोले वितेका वर्षहरूमा झैं यो वर्ष पनि १ potaloo sponcer (जसको मूल्य £१०० र यसबापत श्रीमान् अनि श्रीमतीलाई VIP गेस्टको रूपमा सम्मान गरिने छ) गरीदिनु भई सहयोग गरी दिनुहुन हार्दिक अनुरोध गर्दछु ।’
संस्थाका अध्यक्ष, कार्यसमितिहरु, इकाईका अध्यक्षहरु, ट्रस्टीहरु, पूर्वअध्यक्षहरु, आमा समूहका अध्यक्ष, पूर्वअध्यक्षहरु, सल्लाहकारहरु, आजीवन सदस्यहरु तथा सम्पूर्ण प्रतिष्ठित व्यक्तित्वलाई सम्बोधन गरिएको पत्रमा गत वर्ष कोरोना महामारीका कारण तमुधिं एसोसिएसन यूकेद्वारा सञ्चालन गरिँदै आएको फूटबल खेलप्रेमीहरूको एकमात्र चर्चित खेल ‘गोर्खा कप’ सञ्चालन गर्न असमर्थ भएको र यस वर्ष पनि गत मेको bank holidayमा हुनुपर्ने तर कोरोना लकडाउनले शनिबार २४ जुलाई २०२१ मा गर्ने निर्णय गरेको समेत उल्लेख रिएको छ ।
सहयोगीले रकम डिपोजिट गरिसकेपछि कोषाध्यक्ष कमल कोने गुरुङ 07588242398 र सहकोषाध्यक्ष इमप्रसाद गुरुङ 07733316043 मा जानकारी गराई आफ्नो नाम पनि अनिवार्य उल्लेख गराइदिन पनि उपाध्यक्ष गुरुङले आग्रह गरेका छन् ।
Reference मा आफ्नो नाम लेख्नु होला ।
Bank Details यस प्रकार छन:
Tamu Dhee Association U.K.
NatWest
Sort Code
60-08-13
Account
58001875
अल्डरसटस्थित क्वीन्स् एभिन्यूमा तय भएको १९ औं गोर्खाकपमा मुख्य र भेटेरान गरी दुई विधामा जम्मा ४२ टीमको प्रतिस्पर्धा हुने भएको छ । यस पटकको गोर्खाकपमा मुख्य विधामा ३२ र भेटेरान विधामा १० टीमको नाम दर्ता भएको प्रतियोगिताका टीम दर्ता संयोजक कुमार गुरुङले जानकारी दिएका छन् । संयोजक गुरुङका अनुसार, गत मे १९ मा टीम दर्ता खुलाइएको तीन घण्टाभित्रै भेटेरानतर्फ ठाउँ भरिएको थियो भने मुख्य विधा पनि तीन दिनमै ‘फुल’ भएको थियो ।
यसपटक गोर्खाकपका हल्यान्ड र बेल्जियमबाट एकएक टोली सहभागी रहनेछन् भने बाँकी सबै टीम बेलायतभित्रैबाट छन् । बेलायत सरकारको अहिलेको योजनाअनुरुप नै जुलाई १९ बाट लकडाउन पूरै हट्यो भने दर्शकको सहभागितामा कुनै नियन्त्रण आवश्यक नहुने तर जम्मा हुन पाउने मानिसको संख्या तोकिएको अवस्थामा सोहीअनुसार गर्नुपर्ने मनस्थिति आयोजकको छ ।
गोर्खाकपमा मुख्य विधातर्फ विजेतालाई २५ सय पाउण्ड र उपविजेतालाई १५ सय पाउण्ड तथा भेटेरान विधामा विजेतालाई १२ सय पाउण्ड र उपविजेतालाई ८ सय पाउण्ड पुरस्कार प्रदान गरिनेछ । यसपटक गोर्खाकपमा प्यारासुट् जम्प, नेपाली सांस्कृतिक नाचहरु लगायतका विशेष आकर्षण रहनेछन् । कार्यक्रमस्थलमा विभिन्न नेपाली खाना, नेपाली सामग्री, च्यारिटी तथा व्यवसायका गरी दर्जनौं स्टलहरु पनि राखिनेछन् ।
१९ औं गोर्खाकपको संयोजन आयोजक तमु धिं यूकेका स्पोर्ट्स् सेक्रेटरी क्या देव घलेले गर्दैछन् । तमु धिं यूके अध्यक्ष हित काजी गुरुङले गोर्खाकपमा सहभागिताका लागि बेलायतस्थित सिंगो नेपाली समुदायलाई आह्वान गरेका छन् ।
१९ औं गोर्खाकपबारे जानकारी दिन तमुधिं यूकेले जुलाई १८ तारिख आइतबार दिउंसो १ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछ । सोही अवसरमा प्रतियोगितामा सहभागी हुने टीमहरुको घोषणा र ‘म्याच ड्र’ पनि गराइँदैछ ।






