
लन्डन साउन ६ । प्रवासी नेपाली मञ्चले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गण्डकी हस्पिटलमा अक्सिजन प्लान्ट सहयोग गरेको छ ।
दिनमै २ सय सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको प्लान्ट बुधबार अस्पताल पुगेको मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष भक्त गुरुङले जानकारी दिए । उनले आफूहरुले पठाएको अक्सिजन प्लानका कारण असमयमै मृत्यु वरण गर्न नपर्ने विश्वास लिँदै गर्व लागेको बताएका छन् । ‘२४ घण्टामा २०० सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको प्लान्ट भएकोले हामीलाई विश्वास छ अब अक्सिजनकै अभावमा यस क्षेत्रका हाम्रा सन्ततीहरुले असमयमा जीवन गुमाउनपर्ने छैनन् । आफ्नो मातृभूमि पीडामा पर्दा थोरै भए पनि हामीले सहयोग गर्न पाएका छौं । यसमा हामीलाई गर्व लागेको छ,’ उनले भने ।
गुरुङका अनुसार २० वटा कम्पनीसँग कोटेसन मागी चीनको हान्जाओ कम्पनीमा निर्मित प्लान्ट किनिएको थियो । उक्त प्लान्ट जर्मन प्रविधिमा आधारित रहेको जानकारी गुरुङले दिए । उक्त प्लान्ट बिना कमिसन ल्याउँदा डेढ करोड नेपाली रुपैयाँ परेको जानकारी गुरुङले दिए ।
नेपालमा दोस्रो लहरको कोभिड १९ फैलिएर मानिसहरुको ज्यान जान थालेपछि प्रवासी नेपाली मञ्चको बैठक बसी नेपाललाई सहयोग गर्ने निर्णय गरेको उनले सुनाए ।
अबको केही दिनमा अक्सिजन प्लान्ट स्थापना गर्ने जानकारी प्रतिष्ठानका उपकुलपति डा डुकबहादुर क्षेत्रीले जानकारी दिए ।
अध्यक्ष गुरुङले सहयोगी मनहरुप्रति हार्दिक नमन भन्दै यस कार्यमा अहोरात्र खट्ने संसारभरीका संस्थाका नेता साथीहरुलाई आभारसहित धन्यवाद छ । यसको व्यवस्थापन कार्यमा नेपालमा खटिएका अन्तर्राष्ट्रिय कमिटीका सदस्य भक्त गुरुङ (हङकङ) र डा विमला भण्डारी (रसिया) लाई धन्यवाद दिएका छन् ।






