लण्डन साउन १४ ।

गैरआवासीय नेपाली संघ एनआरएनए बेलायतको निर्वाचन घोषित मिति जुलाई ३१ मै हुने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त महेन्द्रराज कँडेलले बुधबार एक पत्रकार सम्मेलन गर्दै सोको जानकारी दिएका हुन् । यसअघि आइतबार सम्पन्न अधिवेसनमा प्रमुख निर्वाचन आयुक्त कँडेलले प्राविधिक कारणले निर्वाचन एक साता सर्न पनि सक्ने संकेत गरेका थिए । कँडेलले अनलाइनबाट निर्वाचन गराउन च्वाइस भोटिङ नामक बेलायती कम्पनीसित मंगलबार सम्झौता भइसकेको र अब पूर्व घोषित मितिमै चुनाव गर्नमा कुनै समस्या नभएको प्रष्ट पारे ।
अमेरिकी तथा स्पेनी कम्पनीहरुबाट सस्तोमा बोलपत्र आएको भए पनि उनीहरुमा त्यति विश्वास नभएकाले ब्रिटिश कम्पनी छनौट गरिएको उनले बताए । उनका अनुसार निर्वाचन गराउने कम्पनीका लागि करिब १३ देखि १४ हजार पाउण्ड खर्च हुन सक्नेछ । अनलाइनबाट निर्वाचन गरिए पनि निर्वाचन परिणाम आउन भने ढिलाइ हुन सक्ने संकेत उनले गरे । बेलायतको कानुन पालना गर्ने भएकाले सो कम्पनीले सोमबार मात्र प्रारम्भिक नतीजा दिनसक्ने र अन्तिम नतीजा मंगलबार मात्र आउन सक्ने बताएको पनि उनले प्रष्ट पारे ।
मतदान कसरी सम्पन्न हुन्छ भन्ने बारेमा निर्वाचन समितिले निर्वाचन सम्बन्धी सूचना तुरुन्तै प्रकाशन गर्ने जानकारी पनि उनले दिए । निर्वाचन कसरी सम्पन्न हुन्छ भन्ने बारेमा मतदाताहरुलाई सचेत बनाउन सहयोग गर्न उनले उम्मेदवारहरु र मिडियालाई अनुरोध गरे । एनआरएनए केन्द्रको सदस्यता प्रणालीबाट निर्वाचन गराउन सबै उम्मेदवारहरुको विश्वास नभएकाले तेस्रो पार्टीलाई मतदान गराउनका लागि सम्झौता गर्नु परेको उनले बताए ।
यसपटकको मतदानमा प्रविधिले मतदाताको अनुहार पहिचान गरेर एकजना मतदाताको मत अर्को मतदाताले हाल्न नपाउने व्यवस्था भने यसपटकको निर्वाचनमा हुन नसक्ने उनले बताए । अनुहार पहिचान गर्नसक्ने पक्का गर्न सदस्य बनाउँदा नै त्यस्तो व्यवस्था गर्नुपर्ने सुझाव पनि उनले दिए । एउटा डिभाइस वा एउटा आइपी ठेगानाबाट पाँच जनाले मत दिन पाउने कँडेलले स्पष्ट पारे ।
एनआरएनए युकेमा हाल ११ हजार ३६३ मतदाता रहेका छन् । उनीहरुले स्कटल्याण्ड र इङल्याण्ड राज्य समितिहरु र बेलायत राष्ट्रिय समितिका लागि मतदान गर्नेछन् । पत्रकार सम्मेलनको संचालन निर्वाचन समितिका सदस्यसचिव कर्णबहादुर शाहीले गरेका थिए ।






