धादिङ नुवाकोट समाज यूकेको १८ जुलाईमा वार्षिक भेटघाट र डीएनएस कप २०२६ हुने

SHARE:

लन्डन । धादिङ नुवाकोट समाज यूकेको यही १८ जुलाईमा वार्षिक भेटघाट र डीएनएस कप २०२६ हुने भएको छ ।

‘फुटेर होइन, जुटेर अघि बढौँ’ भन्ने विश्वासलाई आत्मसात गर्दै धादिङ र नुवाकोटका मात्र होइन, बेलायतमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एउटै परिवारको भावनामा बाँध्ने प्रयासस्वरुप भेटघाट र खेलकुद कार्यक्रम गर्न लागिएको हो । कार्यक्रम शनिबार १८ जुलाईमा फेल्थाम कलेजमा हुनेछ ।

यस वर्ष संस्था बेलायतको च्यारिटी हाउसमा विधिवत् दर्ता भएको खुसीको अवसरलाई अझ विशेष बनाउन, मनोरञ्जन मात्र होइन, प्रेरणाको उज्यालो बोकेर आउने असाधारण व्यक्तित्वहरूलाई आमन्त्रण गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा विशेष आकर्षणको रुपमा दृष्टि गुमे पनि सपना गुम्न नदिने, संघर्षलाई सफलताको गीतमा बदल्ने प्रेरणादायी व्यक्तित्व द भ्वाइस अफ नेपाल सिजन ६ का विजेता प्रोसेस पाण्डे, चर्चित सर्जक, लेखक तथा हास्यव्यङ्ग्य कलाकार शैलेन्द्र सिम्खडा, लोकप्रिय गायिका, टेलिभिजन प्रस्तोता तथा मोडल शोभा त्रिपाठी, लोकप्रिय गायक तथा संगीतकार सुरिलो स्वरका धनी कुमार योन्जनको प्रस्तुति रहने छ ।

अतिथि र स्थानीय कलाकारहरुको उत्कृष्ट प्रस्तुति, खेलकुद, सांस्कृतिक कार्यक्रम, हास्यव्यङ्ग्य, बालबालिकाका रमाइला गतिविधि, आकर्षक लक्की ड्र, राफल ड्र तथा स्वादिष्ट चौरासी व्यञ्जनसहितको विशेष भोजनले दिनभरि सहभागीलाई भरपूर मनोरञ्जन प्रदान गरिने जनाइएको छ ।

डीएनएस कप
सोही दिन डीएनएस कप २०२६ हुने छ । ८ ए साइड फुटबल टुर्नामेन्टमा ८ टिमबीच प्रतिस्पर्धा हुने छ । प्रथम पुरस्कार ८ सय पाउन्ड र सेकेन्ड पुरस्कार ४ सय पाउन्ड, ट्रफी, प्रमाणपत्रलगायत प्रदान गरिने छ । सहभागी टिमले दर्ता शुल्कबापत २ सय पाउन्ड तिर्नु पर्नेछ । खेल बिहान ९ देखि दिउँसो २ बजेसम्म समय तोकिएको छ ।

‘तपाईंको एउटा दिन, हाम्रो लागि एउटा इतिहास बन्न सक्छ । आउनुहोस्, नयाँ चिनजान गरौँ, पुराना सम्बन्धलाई अझ बलियो बनाऔँ, आफ्ना छोराछोरीलाई हाम्रो भाषा, संस्कृति र एकताको सुन्दर अनुभूति दिलाऔँ । किनकि संस्था भवनले होइन, तपाईं–हामी सबैको माया, साथ र उपस्थितिले बन्छ,’ धादिङ–नुवाकोट समाज यूके समर भेटघाट २०२६ आयोजक समितिको अपिल छ ।

विदेशको व्यस्त जीवन, कामको चाप र समयको दौडबीच कहिलेकाहीँ आफ्ना गाउँ, आफन्त, साथीभाइ र जन्मभूमिको मायाले मनलाई निकै तान्छ । यस्तै क्षणहरूलाई आत्मीय भेटघाटमा बदल्ने उद्देश्यका साथ धादिङ–नुवाकोट समाज यूकेले हरेक वर्ष समर भेटघाट आयोजना गर्दै आएको छ । परिवार, आफन्त र साथीभाइसँगै उपस्थित भई समर भेटघाटलाई भव्य सफल बनाइदिन आयोजकले अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!