संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन: चीन भ्रमण उपलब्धिपूर्ण र सफल

SHARE:

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने, विगतमा भएका सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्नेलगायतका विषयमा आफ्नो चीन भ्रमण केन्द्रित रहेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा यही असार ५ गतेदेखि १० गतेसम्म आफूले गरेको छदिने औपचारिक चीन भ्रमणका बारेमा जानकारी दिँदै उनले सरकारको प्रमुख कार्यसूचीका रुपमा रहेको आर्थिक समृद्धिलाई अगाडि बढाउन चीन सरकारसँग महत्वपूर्ण कुराकानी भएको जानकारी दिए । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि जिन पिङ, समकक्षी लि खछ्याङ, चिनियाँ जनकंग्रेसका प्रमुख तथा तिब्बत सरकारका प्रमुखसँग भेटवार्ता भएको उल्लेख गर्दै उहाँले राजनीतिक स्थायित्व, आर्थिक समृद्धिको दिशामा भ्रमणले महत्वपूर्ण योगदान गरेको उल्लेख गरे ।

हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल विस्तार गर्ने विषयमा दुई पक्षबीच सहमति भएको जानकारी दिँदै उनले रेलमार्ग, सडक सञ्जालको विस्तार, प्रसारण लाइनलगायतका विषयमा महत्वपूर्ण सम्झौता भएको चर्चा गरे । उनले रेलमार्ग निर्माणसम्बन्धी सहमति महत्वपूर्ण रहेको उल्लेख गरे ।

चिनियाँ अनुदानमा केरुङ काठमाडौँ रेलमार्ग अगाडि बढ्ने र काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणसमेत अगाडि बढ्ने विश्वास बढेर गएको प्रधानमन्त्रीले जानकारी दिए । स्थल तथा हवाई सञ्जालको विस्तार गर्न, उत्तर दक्षिण सम्पर्क सञ्जाल विस्तारमा सहमति भएको उल्लेख गर्दै उहाँले कोशी, गण्डकी र कर्णाली आर्थिक करिडोर निर्माण गर्ने विषयमा सहमति भएको, रसुवागढी–गल्छी ४०० केभी प्रसारण लाइन निर्माण, सन् २०१९ को मे सम्म तातोपानी नाका खोल्ने, रसुवागढी सडक खण्डको विस्तार, पेट्रोलियम पदार्थको खोज तथा अनुसन्धानमा सहयोग गर्नसमेत नेपाल र चीनबीच सहमति भएको सदनलाई जानकारी दिए ।

यस्तै कृषिउपजको निर्यातका लागि अत्याधुनिक क्वारेन्टाइन स्थापना, चीनका विभिन्न शहरमा महावाणिज्यदूतावास स्थापना गर्न सहमति भएको उल्लेख गर्दै उहाँले थप छात्रवृत्ति उपलब्ध गराउने र मानव स्रोतको विकासमा समेत चीनले सघाउने भएको छ भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिइएको जानकारी दिँदै उनले आफ्नोतर्फबाट प्रधानमन्त्री लीलाई नेपाल भ्रमणको निम्ता दिएको उल्लेख गरे ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने लक्ष्य राखेको सम्बन्धमा चीन सरकारले सो कार्यका लागि सहयोग उपलब्ध गराउने र चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउने विषयमा महत्वपूर्ण कुराकानी भएको प्रधानमन्त्रीले स्पष्ट पारे ।

नेपाल र चीनबीच भएका सहमतिको कार्यान्वयनका लागि तिब्बत सरकारले सबै तरहले सहयोग गर्ने आफूलाई तिब्बत सरकारका प्रमुखले वचनबद्धता जनाउनुभएकोसमेत प्रधानमन्त्रीले सदनलाई जानकारी दिए ।

नेपाल र चीनको परराष्ट्र मन्त्रालयबीच उच्चस्तरीय संयन्त्र स्थापना र तीन अर्ब युयान सहयोग उपलब्ध गराउने सम्बन्धमा भएको विगतको सहमतिका आधारमा थप एक अर्ब युयान उपलब्ध गराउने सहमति भएको उनको भनाइ छ ।

कृषि, जलविद्युत्, सञ्चार प्रविधि तथा सडक सञ्जाल तथा भौतिक पूर्वाधारको क्षेत्रमा महत्वपूर्ण सहमति भएको उल्लेख गर्दै उनले दीर्घकालीन आर्थिक सहयोगको खाका तयार भएको र दुई देशबीचको सम्बन्ध विस्तारमा समेत नयाँ आयाम खडा भएको स्पष्ट पारे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!