काठमाडौं असोज ३० ।

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा प्रतिबन्ध लगाइएको छ ।
नेपालका प्रशिक्षक अल्मुतारीलाई फाइनल खेलमा प्रतिबन्ध लगाइएको जानकारीसहितको पत्र साफले एन्फालाई दिएको छ । साफको यो निर्णयपछी अलमुताइरीले असन्तुष्टि जनाएका छन्। उनले यो नियमविपरीत र अन्यायपूर्ण भएको भिडियो पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्। शनिबार बिहान एको भर्चुअल पत्रकार सम्मेलनमा उनले यो मलाईमात्र दिएको सजाय हैन, सम्पूर्ण नेपाली र एन्फालाई दिइएको बताएका छन्।
अलमुताइरीको नेतृत्वमा नेपाल साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको थियो। पछिल्लो खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल फाइनलमा पुगेको थियो। साफको नियमावलीमा रातो कार्ड पाएमा मात्र अफिसियलले अर्को खेल गुमाउने उल्लेख भए पनि लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेंलो कार्ड पाएका अलमुताइरीलाई आज भारतविरुद्ध हुने फाइनल खेलमा साफले प्रतिबन्ध लगाएको हो ।
नेपालका अन्जन विष्टले भने लगातार दुई खेलमा पहेंलो कार्ड पाएकाले उनले भारतविरुद्धको फाइनल खेल गुमाउने यसअघि नै पक्का थियो । साफ च्याम्पियनसिपको बलियो टोली भारत र नेपालबीचको फाइनल खेल आज राति पौने नौ बजे मालदिभ्सको राजधानी मालेमा हुँदैछ ।






