पोखरा । १६ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफेन कोस्गीले जितेका छन् ।
नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा ७२ औं प्रजातन्त्र दिवसका अवसरमा शनिबार आयोजित पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावक स्टेफेनले निर्धारित दुरी ४२.१९५ किमि २ घन्टा १९ मिनेट ४३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । उपाधिसँगै स्टेफेनले उपाधिसँगै नगद ४ लाख नगद हात पारे ।
त्यस्तै केन्याकै अर्का धावक सिमिअन किप्लागाट टुले निर्धारित दुरी २ घन्टा २१ मिनेट ३ सेकेण्डमा पार गर्दै दोश्रो स्थान प्राप्त गरे । उनले नगद २ लाख हात पारे । उनको टाइमिङ समेत पोखरा म्याराथनमा नयाँ रेकर्ड हो ।
म्याराथनतर्फ नै विभागीय टोली नेपाली सेनाका मोहनदेव जोशी २ घन्टा ३३ मिनेट २४ सेकेण्डमा दुरी पार गर्दै तेश्रो स्थान प्राप्त गर्न सफल भएका छन् । उनले नगद १ लाख प्राप्त गरेका छन् । उनी नेपाली धावकहरुमा पहिलो स्थान भएसँगै यूकेको कुनै एक म्याराथनमा सहभागी हुने मौका समेत पाएका छन् । एपीएफ क्लवका सन्तोष विक्रम विष्टले उक्त दुरी २ घन्टा ३४ मिनेट ४८ सेकेण्डमा पार गर्दै चौथो स्थान हात पारेका छन् । उनले नगद ३० हजार प्राप्त गरे ।
यता महिलातर्फ भएको २१ किमि हाफ म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईले उपाधि जितेकी छन् । उनले निर्धारित दुरी १ घन्टा २१ मिनेट २६ सेकेण्डमा पार गर्दै नगद १ लाख हात पारेकी छन् भने एपिएफ क्लवकी विन्द्रा धान्के श्रेष्ठले १ घन्टा २७ मिनेट ४१ सेकेण्डमा पार गर्दै दोश्रो भइन् । उनले नगद ५० हजार प्राप्त गर्दा जुम्लाकी राममायाँ वुढाले १ घन्टा ३० मिनेट ४८ सेकेण्डमा पार गर्दै तेश्रो भइन् । उनले नगद ३० हजार प्राप्त गरिन ।
विदेशी धाविका युकेकी हाना क्यारसले निर्धारित दुरी १ घन्टा ३२ मिनेट ५८ सेकेण्डमा पार गर्दै चौथो भएकी छन् । उनले नगद १५ हजार प्राप्त गरिन् ।
विजेताहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, गण्डकी प्रदेशका सांसद मोहन रेग्मी, ग्रिसका अवैतनिक राजदूत विक्रम पाँडे काजी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङ, प्रदेश युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, पोखरेली मञ्चका अध्यक्ष मानप्रसाद गुरुङ, उपाध्यक्ष करम गुरुङ, कृषि विकास बैंक प्रदेश कार्यालयका निमित्त निर्देशक शम्भु पौडेल, भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट मञ्चका सल्लाहकार जगन गुरुङ, सल्लाहकार गणेश भट्टराई, महेश गुरुङ, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्की, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचन, किर्तिमानधारी धावक बैकुण्ठ मानन्धर, नेपालगञ्ज म्याराथनका संस्थापक टिएस ठकुरी लगायतले विजेता धावक खेलाडीहरुलाई नगद, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा हिमाली सांस्कृतिक परिवार, लोक दोहोरी प्रतिष्ठान गण्डकीका कलाकारहरुले विभिन्न सांगेतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।






