
लन्डन २१ फेब्रुअरी । पोखरेली मञ्च यूके र वी वील राइज फाउन्डेशनको संयुक्त आयोजनामा नेपालमा आइतबार २० फेब्रुअरीका दिन ‘हाइक फर साल्मेडाँडा कार्यक्रम सम्पन्न भएको छ ।
मट्टीखानदेखि गोर्खा स्मारक साल्मेडाँडासम्म पुगेर पदयात्रा सफलतापूर्वक सम्पन्न भएको पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार देश विदेशबाट सहभागी करिब ६० जना हाईकर्सहरुलाई मट्टीखान युवा क्लब, आमा समूह र स्थानीयले पञ्चे बाजासहित स्वागत गरेका थिए ।
पदयात्रामा नेपाली सिने जगतकी सदावहार नायिका करिश्मा मानन्धर, वी वील राइज फाउन्डेशनबाट लोकप्रिय लोकदोहोरी गायिका सुनिता दुलाल, १४ औं पटक सगरमाथाको सफल आरोहण गरेका फूर्बा तेञ्जिङ शेर्पा पनि सहभागी थिए । हाईकिङ्ग सकेर रामकोटको साइँला साइँली होमस्टेमा न्यानो स्वागत र स्वादिस्ट भोजनपश्चात साल्मेडाँडास्थित गोर्खा स्मारकमा वीर पुर्खाहरुप्रति श्रद्धासुमन कार्यक्रम सम्पन्न गरिएको समाजसेवी एवं पदयात्रामा सहभागी सुधा गुरुङले जानकारी दिइन् ।
कार्यक्रममा गोर्खा स्मारकस्थापनादेखिका सक्रिय अभियन्ता एवम् समितिका महासचिव डा. चन्द्रबहादुर गुरुङ, सहसचिव जंगबहादुर गुरुङ, अध्यक्ष जंगबहादुर गुरुङ र वडा नं १ का अध्यक्ष सु.मे. खिमबहादुर क्षेत्रीले गोर्खा स्मारकबारे प्रकाश पार्दै आगामी योजनाहरुबारे बताएका थिए । सोही अवसरमा गण्डकी खेलकुद परिषद् सदस्य सचिव एवम् भूपू खेलाडी मञ्चका पूर्वअध्यक्ष तेज गुरुङ, भूपू खेलाडी मञ्चका संस्थापक अध्यक्ष एवम् पूर्वराष्ट्रिय खेलाडी खड्ग रानाभाटको उपस्थिति थियो ।
त्यस्तै बेलायतबाट सहभागी महेश गुरुङ, नायिका करिश्मा मानन्धर, गायिका सुनिता दुलालले शुभकामना मन्तव्य राखेका थिए । गायिका दुलाले गोर्खा स्मारक निर्माणस्थलदेखि आफू अत्यन्त प्रभावित भएको र विश्वमा नेपालीलाई चिनाउने वीर गोर्खालीको वीरताको गाथा चीरस्मरणीय बनाउन निर्मित गोर्खा स्मारक समितिले पुर्याउँदै आएको अमूल्य योगदानको कदर गर्दै समितिलाई वी वील राईज फाउन्डेशनको तर्फबाट २ लाख रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरिन् । ।
शुभकामना मन्तव्यपश्चात् पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङले धन्यवाद ज्ञापन गर्दै सभा समापन गरेका थिए ।
कृपया तपाईहरु नेपाल आउनुहुदा अवश्यै आफ्नो गाउठाउं जानुहुदा हाम्रो पूर्खाहरुको समाधी स्थल गोर्खा स्मारकमा पनि एक पटक पुग्नुहोला😍😘! निर्माणकार्य अत्यन्त राम्रो संग अगाडी बढिरहेको देख्दा खुशी लाग्यो।
यसै गरि हामीले आन्तरीक पर्यटन लाई प्रवर्धन गर्दै आफ्नो गाउँ बिकास अनि देश निर्माणमा टेवा पुराऔं






